काठमाडौं- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्।
नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन्? यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ।
यस शृङ्खलामा युद्धग्रस्त लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य हुन्छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्धमैदानमा काममा कसरी खटाइन्छ? लिबियाली नागरिकले नेपाली नागरिकलाई कस्तो व्यवहार गर्छन्? यीलगायत नेपाली युवाहरुको यथार्थ भोगाइ समेट्ने प्रयास गरेका छौं। यसका लागि मानव तस्करको प्रलोभनमा परी लिबिया पुगेर सास्ती व्यहोरी फर्किएका युवासँगको कुराकानीमा आधारमा यो सामग्री तयार गरेका छौँ।
000
सन् २०१८ सेप्टेम्बर २१ मा सैनामैना १० रुपन्देहीका गणेशबहादुर थापामगर लिबियाको राजधानी त्रिपोली पुगे।
डेरिमिल्क कम्पनीमा सवारी चालकको कामका लागि भनेर गएका गणेशलाई त्यहाँको राइस मिलमा लेबरको काम लगाइयो।
अफ्रिकी मुलुकको खपिनसक्नु गर्मी, लोडअनलोडको काम, तलब पनि मासिक, ३ सय अमेरिकी डलर मात्रै, खाने खर्च ३ सय डलरबाट, महंगी उस्तै, हरेक क्षण पृष्ठभूमिमा बम र बन्दुकको आवाज।
त्रिपोली नजिकका स्थानमा युद्ध भइरहन्थ्यो, ड्याङ्ड्याङ बन्दुकको आवाज पृष्ठभुमिमा राखेर काममा दैनिक १२ घन्टा खट्नुपर्ने बाध्यता थियो उनको।
त्रिपोलीस्थित युद्धमैदानमा बम बारुदको गोलीसँग आफूलाई जोगाउन संघर्षरत गणेशसँग नेपाल लाइभले फोन सम्पर्क गरेको थियो।
फोनको पृष्ठभुमिमा समेत बम र बन्दुकको ड्याङड्याङ आवाज अनुमान गर्न सकिन्थ्यो।
‘सुन्नु भयो त, पृष्ठभुमिमा आवाज नजिकै बम, बारुद र गोला बर्सिरहेका छन्। कुन बेला मरिने हो टुङ्गो छैन, जसरी हुन्छ हामीलाई उद्धारका लागि सहयोग गरिदिनु पर्यो,’ गणेशको बोली जीवनमरणको दोसाँधमा पुगरे बोलेजस्तो ठम्याउन सकिन्थ्यो।
यसबारे नेपाल लाइभले यसअघि पनि समाचार प्रकाशित गरिसकेको छ।