अघिल्लो साता प्रदर्शनमा आएको बलिउड सिनेमा ‘द लायन किङ’ मा एउटा संवाद छ, ‘आम मान्छे सोच्छन् कि, हामी के लिन सक्छौं तर, एउटा सच्चा राजाले सोच्नुपर्छ म के दिनसक्छु?’
जंगलमा ‘सिंह’लाई ‘राजा’ देखाइएको यो एउटा प्रतिकात्मक फिल्म हो।
‘बाघ’ पनि त्यही हो। उसले यो पर्यावरणीय चक्र अनि यसको सुन्दरतालाई आफ्नै तरिकाले जोगाइरहेको हुन्छ।
नदेखिने तरिकाले बाघले हामीलाई ‘दिईरहेको छ’। तर, मान्छेहरूको ‘शिकारी’ मानसिकता यो सोचिरहन्छ कि, ‘बाघ जोगाएर हामीले के लिने?’
‘बाघ’सँग झट्ट जोडिएर आउने एउटा शब्द ‘जंगलको राजा!’
अनि सँगै जोडिएर आउने अर्को शब्द हो ‘शक्ति!’
अर्थात्, ‘बाघ’, बल र शक्तिको एउटा अनिवार्य ‘बिम्ब’ हो।
त्यस्तै बाघसँग जोडिने अर्काे आम परिभाषा हो, ‘मासु खाने जनावर, अर्काेलाई मार्ने जनावर।’
तर बाघ, हामीले बनाएको आमशक्तिको बिम्बमात्रै होइन।
पर्यावरणीय आँखाले हेर्ने हो भने, बाघ वातावरणीय चक्रको एउटा यस्तो अनिवार्य तत्व हो जसको अभावमा पूरै पर्यावरण नै खलबलिन्छ।
बाघ किन जोगाउने?
पर्यावरणको सन्तुलन चक्रमा बाघ सबैभन्दा माथि हुन्छ। अर्थात् पर्यावरणीय सन्तुलनका लागि बाघ अनिवार्य छ।
यदि संसारबाट बाघ नै सकिए भने के होला?
‘अरु जनावर जोगिन्छन्’ सामान्य तरिकाले सोच्ने हो भने, यही नै होला।
तर होइन। बाघ नै रहेन भने पर्यावरण पूरै विथोलिन्छ।
‘बाघ भएन भने हुन्छ भनेर त हामीले के कुरा पो कल्पना गर्न सक्छौं र?’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पहिलो निर्देशक विश्वनाथ उप्रेती भन्छन् ‘बाघ रहेन भने केही पनि रहन्न नि, पर्यावरण भएन भने के पो रहला र?’
यसलाई अझ सजिलो गरी यसरी पनि बुझ्न सकिन्छ।