उनी जन्मे हुर्केको चितवन । घर नजिकै पुलिस तालिम केन्द्र । त्यही तालिम केन्द्रमा पुलिसहरुले दिनदिनै परेड खलेको देख्दा उनको बालमस्तिष्कले भन्ने गर्दथ्यो ‘ठूलो भएपछि म पनि पुलिस बन्छु’ । पुलिसहरु दौडिरहँदा उनी भने पुलिसहरुलाई हेरेर ‘स्यालूट’ गरिरहेका हुन्थे ।
बुबाबाट संगीत सिक्दै गर्दा उनमा गीत गाउने रहर जागेर आयो । अब उनलाई बर्दीधारी पुलिसभन्दा नारायण गोपाल बन्न मन पर्न थाल्यो । बाल्यकालमै उनको गायन प्रति लगाव निकै बढिसकेको थियो ।
आठ वर्षकै हुँदा पहिलो पटक काठमाडौँ आए । बाल दिवसमा आयोजित गीत प्रतियोगितामा भाग लिएर प्रथम भए । यस्तो उपलब्धि हासिल गरेपछि संगीतप्रति उनको लगाव झनै बढेर गयो । वि.सं २०५१ सालमा ९ वर्षको कलिलो उमेरमा एकल एल्बम नै निकाले । नाम राखिएको थियो – स्वप्निल गिती यात्रा । हुने बिरुवाको चिल्लो पात । यो भनाई नेपालमा निकै प्रचलित छ र उनले यो चरितार्थ गरे ।
यी तिनै स्वप्निल हुन् जो अहिले ‘विद्रोही रकस्टार’ को रुपमा नेपालको संगीत जगतमा स्थापित भइसकेका छन् । स्वप्निल शर्माले आफ्नो ब्यान्ड ‘द स्याडोज नेपाल’ लाई समाजको कथा–व्यथा प्रतिबिम्बित गर्ने समूहको रुपमा चिनाउन सफल भइसकेका छन् ।
ब्यान्डमा संलग्नताः
स्वप्निलले कहिले पनि आफूलाई एकै प्रकारको संगीतमा सिमित राखेनन् । संगीतप्रति उनको रुची नै यति प्रगाढ थियो कि उनी विभिन्न प्रकारको संगीत खोजीखोजी सुन्थे, त्यसलाई बुझ्न पनि खोज्थे ।
९ वर्षको उमेरमा बाल गीतको एल्बम निकालेका उनले १५ वर्षको उमेरमा पप शैलीको अर्को एल्बम निकाल्ने सोच बनाए । नयाँ एल्बम बनाउने सोच बनारहँदा यता ‘द स्याडोज नेपाल’ ब्यान्ड भोकलिष्टविहीन थियो । ब्यान्डले उनलाई फ्रन्टम्यान बन्न अफर गर्यो । त्यसको दुई वर्षपछि अर्थात् १७ वर्षको उमेरमा ब्यान्डमा भित्रिए ।