सुई (इन्जेक्सन) सँगको मेरो पहिलो स्मरण घरबाटै सुरु हुन्छ।
क्वाइलवाला माटोको हिटरमा सुन्तला रङको गाढा नागबेली रापमाथि सानो डेक्ची। त्यसभित्र भकभकी उम्लिरहेको पानी। पानीको फोकासँगै तैरिरहेका सिसाका सिरिन्ज र सियोहरू। तीसँगै हुन्थे, पलेँटी कसेर बसेका एक जना वृद्ध पुरुष। दौरा सुरुवाल र कोट पहिरेका र बाइफोकल चस्मा लगाएका चिन्यमान कम्पाउन्डर।
उनको घर कालिमाटीको मूल सडकमा थियो। अहिले जीवन दाइको पसलकै लाइनमा दुई-चार घर पश्चिम। उहिले कालिमाटीको 'ल्यान्डमार्क' नै उनको घर थियो। समयक्रममा जीवन दाइको पसल 'ल्यान्डमार्क' बन्यो। त्यसमाथि अहिलेको कालिमाटी त चिन्यमान कम्पाउन्डरको घर कहाँ थियो भनेर अन्दाज गर्नै मुश्किल हुने भइसक्यो।
कालिमाटी, टंकेश्वर, ताहाचलदेखि छाउनीसम्म पूरै चिन्यमान कम्पाउन्डरको इलाका थियो। उनको घरमै क्लिनिक थियो। उनी सेवाग्राहीहरूको राम्रै रेकर्ड राख्थे। सुई दिने समय कहिले हो भनेर हामीले सम्झनै पर्थेन, उनी आफैं टुप्लुक्क आइपुग्थे। मेरा हातमा खोपिएका खोपका दाग र दायाँबायाँ पाखुरामा छापिएका सुइँका ल्याप्चे सबै उनै चिन्यमान कम्पाउन्डरका देन हुन्।
हामीलाई उनले बोक्ने छालाको झोला नै कम्पाउन्डरको चिनारीझैं लाग्थ्यो। झोला खोलेर त्यसबाट चाहिने सामान टेबलमा बिछ्याउँदा उनी बडो जतन र सफा गर्थे। सिसाका सिरिन्ज र सुईहरू, इन्जेक्सन पाउडर भएको सानो सिसी, अनि त्यो पाउडरमा मिसाउने पानी भएको अर्को सिसी।
उनको आगमन हाम्रा लागि आतंकै हुन्थ्यो। हामी टाढाबाटै उनको साइकलको घन्टी चिन्थ्यौं। उनले साइकलको प्याडल मार्दा निस्कने जन्जिरको खिद्रिङ खिद्रिङ आवाज र मोडमा बज्ने घन्टीको ट्रिङ ट्रिङ सुनेरै हाम्रो सातो जान्थ्यो। ती आवाज जति नजिकिँदै जान्थे, हाम्रो मुटुको धड्कन उति तेज हुँदै जान्थ्यो।
हुनलाई उनी साह्रै कोमल। स्वभाव पनि हात पनि। हात त यति नरम, प्राय: उनले सुई घोपेको हामीलाई थाहै हुँदैनथ्यो। जब सुई घुसेपछि उनी सिरिन्जको प्लन्जर बूढीऔंलाले ठेल्न सुरू गर्थे र घोपिएको सुईबाट औषधि शरीरभित्र प्रवेश गर्थ्यो, हाम्रो मुखबाट जति सहन्छु भने पनि च्याँ निस्किहाल्थ्यो। कुनै कुनै सुईले त ज्वरो नै निकाल्ने, हात पनि दुई-तीन दिन दुखेर सास्ती।
त्यस बेला ती पुनः प्रयोग गर्न मिल्ने सिसाका सिरिन्ज र सुई हामीलाई निकै ठूला लाग्थे। अहिलेका साना 'डिस्पोजेबल' सिरिन्जभन्दा त पक्कै ठूला हुन्। कुरा आकारको मात्र होइन, सिरिन्ज उमालेर पुनः प्रयोग गर्ने भनेको अचेल अपत्यारिलो लाग्छ।
नियमित खोप र सुईबाहेक कुनै चोटपटक लाग्दा पनि घरमा तुरुन्तै आइपुग्थे, चिन्यमान कम्पाउन्डर। गहिरो घाउ हुँदा झोलाबाट सियो झिकेर सिलाई पनि दिन्थे। साधारण घाउ भए आयोडिन र बेन्जिनको चहराउने लेप लगाइदिन्थे। सबै औषधि र साधन उनको त्यो छालाको झोलामा अटाएका हुन्थे।