सिंगापुर । सिंगापुरमा जारी टी-२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा आइतबार नेपालले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ।
अघोषित फाइनल जस्तै बनेको भोलिको खेल निर्णायक हुनेछ।
नेपाली समय अनुसार सिंगापुरस्थित इन्डियन एसोसिएसन मैदानमा बिहान ७:१५ बजे सुरू हुने खेलमा नेपालले यदि सिंगापुरलाई हराए अक्टोबर ११ देखि युएईमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोट खेल्नेछ।
प्रतियोगितामा अपराजित रहेको घरेलु टोलीलाई केही सहज हुनेछ। यदि भोलिको खेलमा सिंगापुरलाई बराबरी मात्र अघिल्लो चरण प्रवेशमा पर्याप्त हुनेछ।
प्रतियोगिता अन्तर्गत सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले हराएको थियो भने कुवेतसँग दोस्रो खेलमा अंक बाँडेको थियो।
तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको सिंगापुर उच्च फर्ममा रहेको छ।
यता प्रतियोगिताको बलियो दाबेदार नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित भएपछि संकटमा परेको थियो। तर, दोस्रो खेलमा मलेसियालाई ७ विकेट र तेस्रो खेलमा कुवेतलाई समान ७ विकेटले नै हराउँदै छनोट सम्भावना कायमै राखेको हो।
आफ्नो पकडमा आइसकेको प्रतियोगितामा अब रनरेट र अन्य टोलीको नतिजा भन्दा पनि नेपाललाई वर्षाको ठूलो चुनौती दिने देखिएको छ।
नेपाल पराजित भए वा वर्षाको कारण अंक बाड्नु परे विश्वकप खेल्ने सपना सकिने छ।
सिंगापुर ३ खेलमा २ मा जित सहित ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपालले समान खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ।
सिंगापुर नेपाल भन्दा तुलानात्मक रूपमा कमजोर टोली भए पनि नेपाललाई आफ्नो प्रर्दशन भन्दा वर्षाको चिन्ता छ।
मौसम पूर्वानुमानका अनुसार भोलि नेपाल र सिंगापुरबीच खेल हुने क्रममा वर्षा हुन सक्ने सम्भावना देखिन्छ। स्थानीय समयानुसार ११ बजे हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गत वर्ष पनि मलेसियामा सम्पन्न एसिया क्वालिफायर ‘बी’ को फाईनलमा पनि वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको थियो।
तर त्यतिबेलाको वर्षाले नेपाललाई कुनै असर गरेन। नेपाल रन रेटका आधारमा च्याम्पियन बन्दै एसिया क्वालिफायर फाइनलमा स्थान बनायो। तर, भोलि नेपालसँगको खेल वर्षाको कारण रद्ध भए सिंगापुर ग्लोबल छनोटमा पुग्ने छ।
हेड टु हेड
सिनियर स्तरमा हालसम्म टी-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई हराउन सकेको छैन।
नेपाल र सिंगापुरले हालसम्म ३ वटा टी-२० खेल खेलेका छन्। त्यसमध्ये २ खेल नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन भएको थियो।
o(सिंगापुर-८९/१९.४, नेपाल -९०/१(१४.२ ओभर)
o(नेपाल-२१०/५, ८९/१०(१५.१ओभर)
oसिंगापुर- ८१/१०(१७.३ओभर), नेपाल १/१(०.३)