कोही मालिक र कोही दास हुने समाजमा रैती हुन्छ । राणा शासनको पालामा हामी रैती भएर बाँच्यौँ । आज हामी साँच्चै नागरिक भइसकेको भए आममानिसभन्दा माथि कोही पनि हुने थिएन । आममानिसभन्दा माथि संविधान हुन्थ्यो, राज्य हुन्थ्यो । कुनै व्यक्ति हुँदैन थियो । सबै बराबर हुने थियौँ । तर, हाम्रो समाजमा व्यक्ति–व्यक्तिबीच असमानता छ । समाजमा तह कायम छ । जुन समाजमा कोही तल र कोही माथि हुने स्तरीकरण हुन्छ, रैती त्यही हुन्छ ।
नेपालको इतिहासलाई फर्किएर हेर्ने हो भने आजभन्दा बढी स्वतन्त्रता बरु मल्लकालमा थियो । त्यसवेला पनि राजा र रैती नै थियो । तर, त्यसवेलाका राजा कमजोर भएर हो या उदार भएर हो आममानिस आजको भन्दा बढी स्वतन्त्र थिए । पृथ्वीनारायण शाह आएपछि त्यो स्वतन्त्रता खोसियो ।
गोरखाका राजाले सम्पूर्ण नेपाल जिते । पृथ्वीनारायणले गोर्खालीबाहेकलाई प्रजा नै मानेनन् । आफूले जितेको देशमाथि उपनिवेश लाद्यो । उनले नारा नै दिए, ‘मुसलमानले जितेर भारत बिगा¥यो । क्रिस्चियनहरू आएर झन् खराब बनायो । त्यसैले अब नेपाललाई असली हिन्दुस्तान बनाउनुपर्छ ।’ उनले असली हिन्दुस्तानको नाममा नेपाललाई स्वतन्त्र मुलुक बनाउँछु भनेको भए त राम्रै थियो । तर, उनको सपना थियो, ‘म हिन्दू हुँ । मेरो भाषा गोर्खाली । देशभर यही भाषा, यही धर्म चलाउँछु ।’ यही विचारले उनी अघि बढ्दा गोरखाका लागि त राज्य भयो, अरू सबैका लागि साम्राज्य अथवा उपनिवेश भयो ।
काठमाडौं सांस्कृतिक ठाउँ भएकाले यहाँ त्यति दमन भएन । बाँकी भागमा पृथ्वीनारायण शाहले मनपरी नै गरे । उनले कुनै ठाउँमा जितेपछि ‘लोग्ने मान्छेहरूको टुप्पी काटिदिनू, टाउको काटिदिनू’ भने । ‘स्वास्नी मान्छेको स्तन काटेर खोलामा बनाइदिनू’ भने । हामी इतिहासका क्रूर शासकको नाम सम्झिन्छौँ । पृथ्वीनारायण शाह सम्झिएपछि अरू सम्झिनै पर्दैन ।