सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन्। शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उनी परिचित हुन्। यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उनीसँग छ। शनिबार यस्तै भयो। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा सञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे। उनको भाषणमा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलावद्ध रुपमा।
उनको भाषणाको सुरुको कथा थियो ‘जमदग्नीले श्रीमतीलाई काटे, छोरा पर्शुरामले बुबा मैले तपाईको आज्ञा त माने। मेरो माग पुरा गरिदिनुपर्यो। जो तपाईले बचन दिए। मेरी आमालाई फेरी जस्ताको तस्तै व्यूँझाईदिनोस्। अनि जमदग्नीले अपरेशन गरेर व्यूँझाईदिए। जस्ताको तस्तै बनाईदिए।’
दोश्रो कथाः ‘लक्ष्मण लंकामा घाईते भए। बेहोस भए । कोमामा गए। औषधीको थलो भनेको त फेरी हिमालय पर्वत हो। जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए। लक्षमण ब्यूँझिए।’
तेश्रो कथाः ‘शनिको नजर पुग्ने वित्तिकै पार्वतिका छोराको शिर गायब भयो। आपत पर्यो। त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे। म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला।’
परापूर्वकालमा चकर, आश्विनी कुमारलगायत ऋषिहरुले धन्वन्तरि आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दे उनले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए। पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गर्ने गरेको र स्वस्थयकर जीवन बिताएको भन्दै उहाँले आफ्नो भने ६७ वर्षकै उमेरमा कमजोर भएको र बुद्धि बंगारा पनि फुस्किएको बताउन पनि उनले बिर्सिएनन्।
उनले भने ‘म ६७ वर्ष पुरा हुन लागे। हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफै खुस्कियो। १ सय १ बर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो। संयोग कस्तो परेछ। मेरो चाही हिजो बेलुका मात्रै दाहिने पट्टिको माथिल्लो पट्टीको बुद्धि बंगारो खुस्कियो। छामेर हेरेँ। जरा पनि छैन्। रगत पनि आएन। कति असक्त भएको रहेछ।’