कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ । यसबीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।
गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा सरकार असफल भएको स्वीकार गरे । विकसित देशमा समेत सबै घटनाका दोषी पत्ता नलागेको र यो घटनालाई धेरै राजनीतीकरण गरिएको आरोप उनले लगाए । तर, यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन । छानबिनका क्रममा घटनास्थलदेखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् । अभियुक्त त पत्ता लागेनन् नै यो घटनाबाट सिकेर अझै सुधारको प्रयास भएको छैन ।
प्रहरीले ८० जनाको डिएनए परीक्षण गरे पनि कसैको मिलेको छैन । सोधपुछका क्रममा अपराध स्वीकार गरेका व्यक्तिको समेत डिएनए मेल खाएन । शंकाको घेरामा परेका सबैको परीक्षण भइसकेको छ । पक्राउ परिसकेकै व्यक्ति दोषी हुन सक्ने सम्भावना पनि छ । तर, प्रहरी त्यता फर्कन सक्ने अवस्थामा छैन । घटनाका प्रत्यक्षदर्शी नभएकाले अभियुक्तले साबिती दिएको अवस्थामा बाहेक प्रहरीसँग कुनै बलियो प्रमाण छैन ।
विज्ञ भन्छन्– डिएनएबाट दोषी पत्ता लगाउन कठिन छ
निर्मला प्रकरणमा डिएनएलाई अचुक अस्त्रका रूपमा हेरिँदै आएको छ । तर, निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरू बताउँछन् । नमुना संकलन र परीक्षणमा प्रहरीको गल्तीले गर्दा यो अवस्था आएको उनीहरूको भनाइ छ ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो । यो विधि खासगरी वंश पत्ता लगाउन प्रयोग गरिन्छ । व्यक्ति पहिचान गर्ने अटोजोमल प्रविधिबाट परीक्षण हुन नसक्दा निर्मला हत्याका अभियुक्त पत्ता लगाउन कठिन हुने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डिएनएविज्ञ दिनेश झा बताउँछन् । ‘वाई–एसटिआरबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ झा भन्छन्, ‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने पुस्तासम्म प्रहरी जान सक्छ, ठ्याक्कै व्यक्तिसँग डिएनए मेल खाँदैन ।’
प्रहरीले निर्मलाको शरीरबाट संकलन गरेको बलात्कारीको वीर्यको नमुना जोगाउन नसक्दा यस्तो अवस्था आएको हो । वाई–एसटिआर प्रविधिबाट डिएनए परीक्षण गर्ने क्रममा धेरै नमुना नष्ट भएकाले अटोजोमल प्रविधिबाट पुनः परीक्षण गर्न अब सम्भव छैन । त्यसैले दोषी पत्ता लगाउने एउटै आशा पनि कमजोर बनेको छ ।
‘यदि प्रहरीले भजाइनल स्वाबबाट सुरुमै वीर्य मात्र छुट्याएको हुन्थ्यो भने अटोजोमल प्रविधिबाट परीक्षण सम्भव थियो,’ राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजाल भन्छन्, ‘वाई–एसटिआर विधिबाट परीक्षण गर्दा नमुना नष्ट हुँदा यो घटना जटिल बनेको छ ।’ प्रहरीले भने अटोजोमल प्रविधिबाट पनि परीक्षणको प्रयास गरेको, तर नमुना पर्याप्त नहुँदा नतिजा आउन नसकेको जनाएको छ । ‘अटोजोमल प्रविधिबाट परीक्षणका लागि शंकास्पद व्यक्तिको डिएनएको मात्रा नमुनामा १/१० हुनुपर्छ, मात्रा नपुगकाले नै निर्मलाको केसमा अटोजोमल प्रविधि प्रयोग हुन नसकेको हो,’ केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत एक प्रहरी अधिकारी भने ।
प्रहरीले गरेको नमुना संकलनमा राष्ट्रिय मानवअधिकार आयोगले समेत प्रश्न उठाएको छ । नमुना संकलन तथा ल्याबमा ध्यान पु¥याउन नसक्दा नमुनामा असर पुग्न सक्ने र गलत नजिता आउन सक्ने विज्ञ रिजाल बताउँछन् । ‘डिएनए परीक्षण एकदमै संवेदनशील विधि हो,’ उनी भन्छन्, ‘सानो त्रुटिले धेरै गडबड हुन सक्छ, यसमा पनि कतै त्रुटि भएको हुन सक्छ ।’