पोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ। पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेका थिए।
स्थानीयमार्फत जानकारीप्राप्त हुनासाथ सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटिएका उद्धार टोलीले उनको उद्धार गरेको हो।
सुनारलाई उपचारका लागि गण्डकी अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।