हाछेथुको नेतृत्वमा 'स्कुल ट्राफिक जनसचेतना' कार्यक्रम सुरु

तस्बिरः बिएल

 नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले स्कुलहरूमा ट्राफिक जनचेतना अभियान सुरू गरेका छन्।

प्रहरी प्रधान कार्यालयमार्फत महानगरीय ट्राफिक महाशाखाको समन्वयमा बिहिबारदेखि हाछेथुको नेतृत्वमा विद्यालयस्तरीय ट्राफिक जनसचेतना सम्बन्धी कार्यक्रम सुरु भएको  हो।

अभियान अन्तर्गत बिहिबार भक्तपुरको भारती विद्यालयका बालबालिकालाई ट्राफिक सचेतना शिक्षा, ट्राफिक नियम र हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्ने तरिकाबारे जानकारी गराएका हुन्।

अभियान उपत्यकाका तीनै जिल्लामा सञ्चालन हुने हाछेथुले जानकारी दिए।

हाछेथु आफैंले प्राथमिक स्तरको शिक्षा लिएको उक्त विद्यालयबाट यस्तो कार्यक्रम सुरू गर्न पाउँदा आफू अत्यान्त खुसी भएको बताए।

प्रहरी प्रधान कार्यलयको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको उक्त अभियानलाई निरन्तर अगाडि बढाइने हाछेथुले जानकारी दिए।

उनले विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्मका विद्यार्थीलाई दुर्घटनाबारे सचेतना जगाउने गरी कक्षा लिने बताए।

विद्यार्थीहरुबाटै चेतना जगाउन सकियो भने यसको प्रभाव अभिभावकसम्म पुग्ने भन्दै उनले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त देखिएको उपत्यकामा यो कार्यक्रमले प्रभावकारी भूमिका निभाउने दाबी गरे।

प्रकाशित मिति: : 2019-07-25 19:26:30

प्रतिकृया दिनुहोस्