नेपाली कांग्रेसको महाधिवेशन कहिले हुने भन्ने निश्चित नभए पनि त्यसका लागि कसरत तीब्र भइरहेका छन्। सभापति शेरबहादुर देउवाले पनि सभापतिमा दोहोरिन आन्तरिक सक्रियता बढाएका छन्। यसका लागि उनले प्रमुख रुपमा दुई रणनीति अख्तियार गरेका छन्। पहिलो, विगतदेखि आफूसँगै रहेकालाई विरोधी खेमामा जान नदिने। दोस्रो चाँहि विरोधी खेमाका नेतालाई आफूतर्फ आकर्षित गर्ने वा त्यसभित्र समीकरण बन्न नदिने।
000
२०७२ को फागुनमा पार्टी सभापतिको उम्मेदवारी घोषणामा नेपाली कांग्रेसका सभापति देउवाले नतिजा आफ्नो पक्षमा पार्ने गरी अभिव्यक्ति दिएका थिए। कार्यकर्तालाई आश्वस्त पार्ने उनको बोली थियो, ‘पार्टीभित्र दोस्रो दर्जाको नागरिक हुनुपर्दैन।’
१३औं महाधिवेशन केन्द्रित देउवाको उक्त अभिव्यक्तिले उनलाई सभापति बनाउन मद्दत गर्यो। सभापति देउवाको कार्यकाल उत्तरार्धमा आइपुग्दा देउवा कार्यकालको समीक्षा कांग्रेसभित्र सुरु भएको छ। देउवाले पार्टीभित्र दोश्रो दर्जाको नागरिक हुनु नपर्ने धारणा राखेका भए पनि परिणामतः उनले भने मुताबिक हुन सकेन। एक पक्षले देउवालाई गुटकै नेताका रुपमा मात्र अर्थ्याएको छ। आफ्नो पक्षलाई काखी च्याप्ने र आन्तरिक लोकतन्त्रमा कमजोर रहेको आरोप देउवालाई लाग्ने गरेको छ।
जिम्मेवारी, अवसर, निर्णय प्रक्रियामा एकलौटी गरेको उनलाई आरोप लागिरह्यो। गुटविहीन पार्टी बनाउन नसकेका देउवाले गुटकै बलमा १४औं महाधिवेशन केन्द्रित भएर गतिविधि सुरु गरेका छन्। विद्यमान पार्टीभित्रको शक्ति सन्तुलनमा देउवा नै १४औं महाधिवेशनका लागि एक पक्षका बलियो प्रतिस्पर्धी बन्ने सम्भावना बढेको छ। आफू पक्षीय समूहमा ‘निर्विकल्प’ उम्मेदवारका रुपमा देउवा पुनः सभापतिको प्रत्यासी बन्न लागेको देउवा निकटका एक नेताले बताए। आफ्नो खेमालाई व्यवस्थापन गर्न सक्ने क्षमता, विरोधी समूहमा नेतृत्वको किचलो र त्यसकै जगमा पुनः पार्टीको बागडोर सम्हाल्ने मनस्थितिमा देउवा छन्।
विराधी समूहमा कहाँ खेल्छन् देउवा?
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री सिटौला समूहको गठजोड भएमा देउवालाई पुनः सभापति हुने बाटो रोकिने देउवा पक्षीय नेताहरुको बुझाई छ। त्यसलाई बुझेर नै देउवा उक्त समूहभित्र खेल्ने ‘भगिरथ प्रयत्न’ गर्नेछन्। पौडेलले नेता तथा कार्यकर्तालाई न्याय दिनै नसक्ने संस्थापन पक्षको बुझाइ छ। देउवा पक्षीय नेताले भने, ‘उनी आँट भएका नेता होइनन्। छाति सानो छ।’ उनले पौडेललाई ‘चिकेन हार्ट’ नेताको आरोप लगाए।
कोइराला परिवारभित्र पनि खेल्न सकिने संस्थापन पक्षको आँकलन छ।
कोइराला परिवारमा सांगठनिक पकड र व्यक्तित्व महामन्त्री रहेका डा शशांक कोइरालामा छैन। स्टान्ड लिनसक्ने क्षमता पनि उनमा छैन। कांग्रेसको नेतृत्व शशांकलाई सुम्पियो भने पार्टी झनै ओरालो लाग्ने कांग्रेसीजनकै आशंका छ। सुजाता कोइराला स्वास्थ्यका कारणले राजनीतिक कार्यमा सक्रिय छैनन्। कोइराला परिवारमा सक्रियता बढाएका अर्का नेता डा शेखर कोइरालालाई सभापतिको प्रत्यासी बनाउन इतर समूहका नेता एकमत नहुने देउवा पक्षको बुझाइ छ।
संस्थापन इतर समूहका नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र तेश्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला पनि सभापतिको आकांक्षी देखिएका छन्। आधा दर्जन बढी नेता सभापतिका प्रत्यासी हुँदा त्यसको व्यवस्थापन गर्न इतर समूहलाई हम्मेहम्मे पर्छ। त्यसबाट पनि लाभ लिने दाउमा देउवा पक्ष देखिन्छन्।
तेश्रो धार भनी चिनिएको सिटौला समूहको हैसियतलाई संस्थापन पक्षले गौण मानेको छ। देउवा पक्षका नेता भन्छन्, ‘गगन थापा र प्रदीप पौडेलको आडमा सिटौलाको राजनीति चलेको छ। उनीहरुको काम च्याँखे थाप्ने मात्रै हो। थापा र पौडेलले छोड्दा सिटौलाको हैसियत रहन्न।’