ज्ञानेन्द्रको विस्फोटक अर्धशतकमा मलेसियामाथि नेपालको सहज जित, कीर्तिमानी ओपनिङ साझेदारी

तस्बिरः एजेन्सी

सिंगापुर ।  सिंगापुरमा जारी आईसिसि विश्वकप ट्वान्टी २० छनोट एसिया फाइनल अन्तर्गत मलेसियामाथि नेपालले सहज जित निकालेको छ।

मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ६ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो।

नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टोली सम्हालेका ज्ञानेन्द्र मल्लले प्रदी ऐरीसँग ६६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्‍याएका थिए।

२० बलमा अर्धसतक बनाएका मल्ल २१ औं बलमा आउट हुनुअघि ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए। यो नेपाली ब्याट्समेनको सर्वाधिक छिटो अर्धसतकसमेत हो।

यसअघि विनोद भण्डारीले मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

योसँगै मल्ल टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।  यस्तै सबैभन्दा बढी साझेदारीसमेत हो।

मल्ल छैठौं ओभरको दोश्रो बलमा अर्धशतक पुरा गरे लगत्तै आउट भएका थिए। सोहि ओभरमा प्रदिप ऐरीलिई पनि मुमहद सहादतले आउट गरेका थिए। ऐरीले १४ बलमा १ चौका मदतले १२ रन बनाए।

२ विकेट गुमेपछि दिपेन्द्र ऐरी पनि आठौँ ओभरमा २ रन बनाएर आउट भए।

त्यसपछि सोहि ओभरको अन्तिम बलमा बिनोद भण्डारीले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। बिनोदले अविजित १३ रन बनाए जुन क्रममा ८ बलमा १ छक्का प्रहार गरे। शरद भेसावकर २ बलमा ३ रन बनाएर अविजित रहे।

मलेसियाको लागि ३ वटै विकेट मुम्ह्हद स्याहादतले लिए। उनले २ ओभरमा १९ रन खर्चिए।

जितसँगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ।

पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भए पछि नेपाललाई बाँकी खेल जित्ने पर्ने दबाब रहेको थियो। वर्षाले ढिला सुरु भएपछि मात्र ९ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो।

 

 

प्रकाशित मिति: : 2019-07-24 11:12:13

प्रतिकृया दिनुहोस्