काठमाडौँ, साउन ८ गते । यति बेला मध्य, पूर्व र पश्चिमका केही भेगमा भारी वर्षाको क्रम चलिरहेको छ । असार अन्तिम साताको वर्षापछिको बाढीपहिरो र डुबानले कैयौँको ज्यान लियो । घरबाट विस्थापित भएकाहरू अझै शिविरको बासमा छन् । के बाढीपहिरोको विपद् न्यूनीकरण गर्न सकिन्छ ? जानकारहरूका अुसार योजनाबद्ध विकासले विपद् न्यूनीकरण सम्भव छ ।
जोखिमको कारण पहिल्याएर समाधानको दीर्घकालीन बाटोमा अगाडि बढ्न सरकार र सरोकारवालाले नसक्नु ठूलो समस्या भएको भूगर्भविद्हरूको भनाइ छ । इन्जिनियरिङ भूगर्भविद् कृष्ण देवकोटा तराईमा बारम्बार विपद् आउनुको प्रमुख कारण विश्लेषण गर्नुहुन्छ ।
भूगर्भविद् देवकोटाका अनुसार पहिलो कारण जलवायु परिवर्तनले ल्याएको मुसलधारे वर्षाको क्रम बढ्नुु हो । “एकै पटक अति वर्षा हुने नयाँ प्रवृत्ति बढिरहेको छ । यसले तराईजस्तो सम्म भूभागमा पानी छिटो जमेर र बाढी आएर डुबानमा पार्छ”, उहाँले भन्नुभयो । अति वर्षाको अनुमान गर्न मिल्ने कुनै पनि अध्ययन नेपालमा अहिलेसम्म भएको छैन । अप्रत्याशित बाढी आउँदा थाहा नपाएरै क्षति भइरहेको छ ।
दोस्रो कारणमा जथाभावी सडक, भवन र भौतिक निर्माण हुनु हो । “आकाश हेर्दैनाँै, जमिनमात्र हे¥यौँ । भलपानी कसरी व्यवस्थापन गर्ने भन्ने कुनै अध्ययन नगरी विकासका नाममा विनाश गरिरह्यौँ”, उहाँ सतही अभ्यासप्रति लक्षित गर्नुहुन्छ ।
अर्को कारणमा अत्यधिक खानी उत्खनन र भूक्षय बढ्दा नदी भासिनु र बाटो मोडिनुले तराईमा बाढी र डुबान बढाएको हो । तराई र चुरे आसपास योजनबिना नै बाटो निर्माण हुँदा नदीको बाटो छेकिने र सानो कल्भर्ट राख्दा खोल्साखोल्सी र वर्षाको भार थेग्न नसकी बस्तीमा पानी पस्ने र डुबान हुने उहाँले बताउनुभयो ।
तराईलाई हराभरा र सुरक्षित राख्ने चुरेको वन अत्यधिक दोहन हुनु अर्को महŒवपूर्ण कारण रहेको उहाँ बताउनुहुन्छ । चुरेको जङ्गल हुँदै हेटौँडाबाट अमलेखगन्ज पुग्दासम्म बाटोको दायाँबायाँ अति धेरै अवैज्ञानिक उत्खनन भइरहेको छ । “बाटो वा भौतिक संरचना बन्दा नदीले बाटो बदल्छ अनि एक कुनाबाट अर्को कुना हान्दै क्षति गर्दै तराईमा निस्कँदा झन् ठूलो आकारमा उर्लेर विनाश गर्छ”, उहाँले भन्नुभयो ।
तराई पुगेको नदीले बोकेर लगेको लेदो माटो र गेग्य्रान थुप्रँदा नदीको सतह बढ्न गई बाढी फैलिएर बस्ती पसेको उहाँ बताउनुहुन्छ । चुरे अध्ययनमा संलग्न देवकोटाका अनुसार पछिल्लो समय सरकारले भनेजस्तो वन क्षेत्रको वृद्धि चुरेमा लागू हुँदैन । “साना बुट्यान बढेका छन् । पहाडमा सामुदायिक वनका कारण वन क्षेत्रमा सुधार भएको पक्कै हो तर तराईको ठूला वनका ठूला रूख काटिने र मासिने क्रम उस्तै छ”, उहाँ थप्नुहुन्छ । देवकोटाका अनुसार घना रूख हुँदा परेको पानी रूखका पात, हाँगामा ठोक्किँदै जमिनमा पुग्दा विस्तारै सोसिएर जमिनमुनिको जलसतहमा जम्मा हुन्छ । त्यसो हुँदा वर्षाको असर न्यून हुन्छ । तर चुरेको रूख मासिँदै गएकाले परेको पानी सीधै जमिनमा पर्छ र बगेर बाढी बनेपछि विनाश गर्छ ।