महोत्तरीको भंगहा नगरपालिकाकी एक दलित बालिका आमाकै सहयोगमा बलात्कृत भएको घटना बाहिरिएको छ ।
भंगहा नगरपालिका ६ की १२ वर्षकी बालिका उनकै आमाको सहयोगमा बलात्कृत भएकी हुन् । जेठ २७ गते छिमेकका ४० वर्षीय सियाराम महतोले बालिकाकाे आमाकै सहयोगमा दिल्ली पुर्याएर बालिकालाई बलात्कार गरेको खुलेको हो ।
बालिकाको आमाको सियारामसँग हिमचिम भएका कारण आमाले छोरीलाई सियारामसँगै दिल्ली लिएर गएकी थिइन् । सियारामले दिल्लीको एउटा कोठामा बन्धक बनाइ आफूलाई १५ दिनसम्म यौन शोषण गरेको बालिकाले बताएकी छिन् ।
छिमेककै सियारामले आमाछोरीलाई दिल्ली लगेको थाहा नपाउँदा आफन्तले खोजी गरेका थिए । बालिकाकी ठूली आमाले दुवै जनालाई सियाराम र उनका बुवा रामाशिष महतोले दिल्ली लगेको भन्दै फिर्ता ल्याइदिन भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले कारबाही अगाडि बढाएपछि गएको असार १६ गते सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर बालिकाले प्रहरीमा सियारामविरुद्ध करणीको उजुरी दिएपछि सियाराम र बालिकाकी आमा फेरि फरार भएका छन् ।
दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैन : उपरीक्षक अधिकारी
बालिकाले गएको असार २२ गते आफूलाई १७ दिनसम्म बन्धक बनाइ बलात्कार गरेको भन्दै सियारामविरुद्ध मुद्धा दर्ता गरेकी छिन् । यस्तै घटनामा सहयोग गरेको भन्दै सितारामका बुवा रामशिष महतो र स्थानीय रामजत महतोविरुद्ध पनि उजुरी दर्ता गरिएको छ ।
दिल्लीबाट फर्केकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । मुख्य पीडक र बालिकाकी आमा फेरी भारततिर भागेकी छन्’, उपरीक्षक अधिकारीले भन्नुभयो, ‘हामी खोजी गरिरहेका छौँ । यो गम्भीर प्रकृतिको घटना हो । पीडकले कुनै पनि हालतमा उनन्मुक्ति पाउँदैन ।’
अपाङ्ग बुवा बेपत्ता भएपछि परपुरुषसँग आमाको हिमचिम
चमार समुदायकी ती बालिकाका बुबा एक वर्षदेखि बेपत्ता छन् । आर्थिक विपन्नताको कारण बुबा होटेलमा मजदुरी गरेर घरपरिवार चलाउँथे । मानसिक सन्तुलन गुमेपछि बुबा हराएका छन् । तर उनकी आमाले श्रीमानको खोजखबरमा कुनै ध्यान दिइनन् । बरु छिमेककै सियारामसँगको सम्पर्कमा पुगिन् ।
बालिका एक बहिनी र एक भाइ छन् । भाइ १० वर्ष र कान्छी बहिनी ८ वर्षकी छन् । कान्छी बहिनी अहिले आमासँगै गएको बालिकाले बताइन् । कान्छो भाइ र उनी अहिले ठूलीआमाको शरणमा छन् । बुबा बेपत्ता र आमा यो घटनापछि फरार हुँदा उनीहरु भने बिचल्लीमा परेका छन् ।