कुरा सन् २००८ तिरको हो । त्यो दिन अरु दिनजस्तै सामान्य नै थियो । त्यही भएर ठ्याक्कै मिति पनि याद छैन । तर, त्यही एक दिनले नेपालकै सबैभन्दा लोकप्रिय सांगीतिक समूहको भविष्य निर्धारण गर्दै थियो ।
त्यो दिन १७९४ एडी ब्याण्डका भोकलिस्ट तथा गितारिस्ट फिरोज स्याङ्देनले ब्याण्डका सदस्यहरुलाई आफ्नो घरमा डिनरका लागि आमन्त्रण गरेका थिए । ब्यान्डका सदस्यहरु एकै ठाउँ भएकाले माहौल रमाइलो थियो । तर, त्यो रमाइलो धेरै बेर टिक्न सकेन ।
‘ल केटा हो, म चाँहि अब अमेरिका जान्छु । तपाईंहरुले के गर्नुपर्छ गर्नुस्,’ फिरोजले एकाएक सबैलाई ‘सक्ड’ बनाए ।
ब्यान्डका ड्रमर एवम् पर्कसनिष्ट सञ्जय श्रेष्ठ त्यो दिन फिरोजले भनेको कुरा सम्झँदै भन्छन्, ‘एकछिन अगाडिसम्म मन पुलकित थियो, एकैछिनपछि भारी बन्यो ।’
यता, फिरोजले जीवनको नयाँ यात्रा थालनी गर्ने निर्णय लिइसकेका थिए ।
२५ वर्षअघि आफैले जन्माएको ब्यान्डलाई चर्चाको उत्कर्षमा रहेका बेला छाडेर बिरानो देशमा जानु फिरोजका लागि पनि कहाँ सजिलो थियो र ?
सञ्जयलगायत ब्यान्डका अन्य सदस्यहरुले फिरोजको बाध्यता बुझेका थिए । लामो समयको साथ जो थियो उनीहरुको । उनीहरुले पनि फिरोजलाई रोक्न चाहेनन् ।
फिरोजले पनि उतैबाट गीत पठाइदिने र ब्यान्डका लागि आफू सधैँ उपलब्ध हुने वाचा गरे ।
तैपनि त्यति लामो समय साथ बिताएको आफ्नो मनपरेको मान्छेलाई ‘गुडबाई’ भन्न सजिलो कहाँ हुन्छ र ? सञ्जयले बिदाईको त्यो पलमा भनेका थिए, ‘फिरोज दा, विस यु अल द बेस्ट । तपाईंहरुले बनाउनुभएको यो घरको ढोका तपाईंका लागि सदा खुल्ला रहनेछ ।’
फिरोज त परदेश लागे । यहाँ नेपालमा भने ब्यान्डका अन्य सदस्यहरु अब के गर्ने भन्नेमा अन्यौलमा थिए । ब्यान्डलाई निरन्तरता दिने कि अब पूर्णविराम लगाउने भन्ने विषयमा ब्यान्डका बाँकी सदस्यबीच विभिन्न चरणमा कुराकानी पनि भयो ।
तर, ब्यान्डको नेपालमा यति धेरै प्रशंसक छन्, उनीहरुका लागि भए पनि ब्यान्डलाई ‘ब्रेक’ हुन दिनुहुँदैन भनेर बाँकी चारजना (निराकार याक्थुम्बा, एड्रियन प्रधान, मनोज केसी र सञ्जय श्रेष्ठ) मिलेर ब्यान्डलाई अघि बढाउने निधो गरे ।