जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् ।
पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवद्र्धन समिति नामक संस्था पनि गठन गरेको छतिवन पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भरत कुँवरले बताए।
जोरायल गाउँपालिका–२ मा धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्व राख्ने छहरा झरना, भगत बाबा मन्दिर, छतिवनताल, रङ्गुनताल, बाइस खाम, धारापानी पिकनिक क्षेत्र, भगवतीडाँडालगायतका स्थलहरु रहेका छन् ।
छतिवनमा पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन गुरुयोजना तयार भइसकेको र त्यसका लागि आवश्यक विस्तृत योजना निर्माण हुने क्रममा रहेको सो समितिले जनाएको छ । त्यसका लागि रुवसकाँडादेखि छहरा झरनासम्म जिपलाइन, भगतडाँडामा भ्यूटावर, छहरा झरनाको संरक्षण र प्रवद्र्धनका लागि यसै वर्ष विस्तृत योजना बन्ने अध्यक्ष कुँवरले जानकारी दिए।
हालसम्म रुवसकाँडा देखि छहरा झरनासम्मको छ किमीमध्ये पाँच किमी सडक निर्माण भइसकेको र बाँकी सडक यसै आर्थिक वर्षमा निर्माण गरिने कार्यक्रम रहेको छ । समितिले पर्यटनलाई प्रवद्र्धन गर्नका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धित निकायबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको र यसका लागि आवश्यक पहल भइरहेको समितिले जनाएको छ ।
युवाहरुको प्रयासलाई प्रोत्साहन गर्नका लागि जोरायल गाउँपालिका, प्रदेश सरकार तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही सहयोग उपलब्ध भएको छ । पर्यटन प्रवद्र्धन पनि विकासको महत्वपूर्ण क्षेत्र भएकाले छतिवनका युवाहरुले थालेको अभियानमा गाउँपालिकाले सक्दो सहयोग गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए।
उनले भने, “पर्यटन क्षेत्रको विकासका लागि युवा समूहले गरिरहेका कामका आधारमा गाउँपालिकाले आवश्यक सहयोग र बजेट विनियोजन गर्नेछ ।” रासस