इरानमा हिजाब अनिवार्य छ। तर यो नियमको अवज्ञा गर्दै एक इरानी युवा तेहरानको सडकमा हिजाब नलगाइ हिँड्छिन्।
प्रत्येक पाइलामा दुव्र्यवहार र इरानको ‘मोरालिटी पुलिस’को गिरफ्तारीमा पर्ने जोखिम छ। सन् १९७९ मा भएको इस्लाम आन्दोलनपछि उनीहरूले निकै कठोर ‘ड्रेस कोड’ लागू गर्ने काम पाएका छन्।
‘मैले भन्नैपर्छ, यो एकदमै डरलाग्दो छ,’ ३० वर्षीया महिलाले ह्वाट्सएपको अडियो सन्देशमा भनिन्। ‘फायर–सेफ्टी कन्सलट्यान्ट’ को काम गर्ने ती महिलाले परिचय खुलाउन चाहिनन्।
तर, उनी आशावादी छिन्। धेरैभन्दा धेरै महिलाले अवज्ञा थालनी गरेकाले विरोध दबाउन कठिनाइ बढ्दै गएको उनको विश्वास छ। ‘उनीहरू हाम्रो पछि लागेका छन् तर पक्रन सक्दैनन्,’ उनले भनिन्,‘त्यसैले परिवर्तन आउँछ भन्ने हामीलाई विश्वास छ।’
हिजाबको बहसले इरानमा ध्रुवीकरण भएको छ। सन् २०१५ मा इरान र विश्व शक्तिबीच भएको आणविक सम्झौताबाट ट्रम्प प्रशासनले अघिल्लो वर्ष हात झिक्यो र इरानमाथि अभूतपूर्व प्रतिबन्ध लगायो। त्यही प्रतिबन्धमा पिल्सिरहेको इरानमा अहिले यस्तो अवज्ञा भइरहेको छ।
आर्थिक संकटको समयमा कुन हदसम्म सरकारले हिजाबको नियम कार्यान्वयन गर्नसक्छ त्यो प्रष्ट छैन। मुद्रा पनि कमजोर बन्दै गएको छ र आवासको मुल्य आकाशिँदै गएको छ। सीमा परिभाषा फेर्ने प्रयासमा यो ‘ड्रेस कोड’ विरूद्ध महिलाले आवाज उठाइरहेको विश्वासिला प्रमाण भेटिन्छन्।
मानौं उनीहरूले सत्तारूढ सिया मुस्लिम धर्मगुरू र उनीहरूको सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गरिरहेका छन्। विशेष गरी मल, लेकसाइड पार्क, होटेलको लब्बीजस्ता तेहरानको हुनेखाने क्षेत्रमा एपी संवाददाताले नौ दिनको अन्तरमा हिजाब नलगाइ हिड्ने करिब दुई दर्जन महिला देख्यो।
खुलेर विरोध नगरे पनि अन्य थुप्रै महिलाले रंगीबिरंगी स्कार्फ बाँधेका देखिन्थे। कपाल देख्न सकिन्थ्यो। तेहरानको ग्रान्ड बजारमा परम्परागत महिला धेरै आउँछन्। त्यहाँ पनि अधिकांश महिलाले यस्तै ‘क्याजुअल’ हिजाब लगाएको देखियो। तर शिरदेखि पाउसम्म कालो बुर्काले छोपेर टाउकोमा कसिलो चदोर बाँध्ने महिलाको संख्या कम भए पनि उल्लेखनीय छ।