स्वर्गीय गायक अरुण थापा र झम्सिखेलबीच पचास वर्ष पुरानो सम्बन्ध छ। अरुणको स्मृति दिवस अर्थात् साउन ५ गतेले त्यो सम्बन्ध झन्झन् कसिलो बनाइरहेको छ।
झम्सिखेल त्यही ठाउँ हो जहाँ अरुणले आफ्नो जीवनका महत्वपूर्ण समय बिताएका थिए। त्यही बसाइँमा अरुणले झम्सिखेलका गल्ली र यहाँ मान्छेको मनमा तीतामीठा याद छोडेर गएका छन्।
झम्सिखेल आज पनि अरुणका तिनै तीतामीठा स्मृतिमा रमाउँछ र हाँस्छ। उनको अभावमा तड्पिन्छ र रुन्छ। सायद आफूलाई छोडी गएकोमा झम्सिखेल अरुणसँग मौन गुनासो पनि पोख्छ। तै पनि झम्सिखेलले अरुणलाई माया गर्न कहिल्यै छाडेको छैन।
कुनै बेला अरुण थापाको घर भएको झम्सिखेलस्थित चोकको माझमा ठडिएको उनको आकृति कुँदिएको सालिक त्यही मायाको प्रमाण हो।
झम्सिखेल क्लबका सन्दन थापा र पुरुषोत्तम थापा अरुणका छिमेकी भाइहरू हुन्। यिनै दुईको पहलमा स्थापना भएको 'अरुण थापा स्मृति प्रतिष्ठान'ले उनको सालिक बनाएको हो। २०६६ चैत २८ गते सालिक स्थापना भएपछि झम्सिखेल-२ को यो ठाउँले अरुण थापा चोकको परिचय बनाएको छ।
अरुणको सालिक बन्नुअघि यो फोहोर थुपार्ने ठाउँ थियो।
प्रतिष्ठानका अध्यक्ष सन्दन थापा भन्छन्, 'सालिक भएको ठाउँमा कन्टेनर थियो।'
'रिङरोडभित्र सरकारले गणेशमान सिंहको सालिक बनाउनसमेत नमानिरहेको अवस्था थियो,' प्रतिष्ठानका कोषाध्यक्ष पुरुषोत्तम थापा थप्छन्।
बडो दुःखले पचास, सय, हजार गर्दै चन्दा उठाएर सालिक बनाएको उनीहरू बताउँछन्।
सन्दन र पुरुषोत्तम नातेदार दाइ-भाइ हुन्। हाल सालिक भएको बगलमै थियो, अरुणको घर। एकातिर जुद्ध खलक, अर्कातिर चन्द्र खलक 'राणाजी'हरूको माझमा थियो अरुणको घर। र, त्यसको सामुन्नेमै पर्थ्यो यहीँ आठौं पुस्ता बिताएका सन्दन र पुरुषोत्तमको घर।
अरुणका परिवार २०२४ सालमा झम्सिखेल आएका थिए। आफ्नो पृथक आवाजका कारण सन्दन र पुरुषोत्तमसँगै झम्सिखेलका स्थानीयमाझ प्रिय बन्न अरुणलाई समय लागेन। गाउन रुचाउने सन्दन र गितार बजाउन रुचाउने पुरुषोत्तम संगीतप्रेमी अरुणको परिवारसँग चाँडै घुलमिल भए।