शीतल दाहाल पुरुषसत्ताविरुद्ध आवाज उठाउँछिन्। पुरुषसत्ताका कारण महिलाहरु कसरी उत्पीडनमा परेका छन् भन्ने विषयमा उनको कलम खरो रुपमा चल्छ। यसकारण कतिपयले उनीमाथि ‘पुरुषविरोधी’ को आरोप समेत लगाउने गर्छन् । उनै शीतलको बुझाईमा पुरुष चरित्र के हो त? नेपालखबरले उनीसँग गरेको पुरुष संवाद यहाँ प्रस्तुत गरेका छौँ।
तपाईंको विचारमा पुरुष चरित्र भनेको के हो?
पुरुष हुन त मान्छे नै हो। तर, उसलाई पुरुष बनाइएको हो। पुरुष भएका कारण उसमा रहेका कमी–कमजोरीसहितको मान्छे भइदियो ऊ। हाम्रो सामाजिक संरचनाले उसको विशेषण थपिदियो।
मान्छे हुनु र पुरुष हुनुमा के भिन्नता रहेछ?
एउटा असल मान्छेलाई विभिन्न विशेषणहरु झुन्डाइदिएर खराब मानिस बनाइएको छ भने ऊ पुरुष हो। पुरुषको ठाउँमा महिलालाई राख्ने हो भने पनि उसको विशेषताको कुरा आउला। तर, महिला पुरुष जति खराब हुँदैनन्। नेपाली समाजमा महिलालाई कमजोर, कमसल र निरिह भनेर ब्याख्या गरिएको छ भने पुरुषलाई शाहसी, विशेष, महान्, बहादुर भनेर अलंकार लगाइएको छ। जसका कारण ऊ पुरुषसत्ताको चंगुलमा छ।
पूर्वीय दर्शनले पुरुषलाई आत्मा र महिलालाई शरीर मान्छ। जसअनुसार पुरुष अमर र महिला नासवान् हुन् भन्न खोजिएको छ। यसमा तपाईंको मत के छ?
होजस्तो लाग्छ। हाम्रो समाज र हामी पूर्वीय दर्शनबाट निर्देशित छौँ। पुरुषले आफूलाई के सम्झियो र महिलाले आफूलाई के सम्झियो भन्ने कुराको सूक्ष्म अवशेष हामी हौँ। त्यही अवशेषका कारण महिलाले आफूलाई सोच्ने र पुरुषले आफूलाई सोच्ने मानसिकता यस्तो छ।
भनेपछि पुरुषको परिभाषा उसको व्यवहार र हाउभाउले निर्धारण गर्छ?
पुरुष र महिलाको आ–आफ्नो हाउभाउ हुन्छ। त्यसैले परिभाषाको निर्माण गर्छजस्तो मलाई लाग्दैन। यसमा पक्कै उसको व्यवहार कारक रहन्छ। एउटा पुरुषले हिजोदेखि महिलालाई कस्तो व्यवहार ग¥यो र आज कस्तो व्यवहार गरिरहेको छ भन्ने कुराले यसमा केही हदसम्म फरक पार्छजस्तो लाग्छ। किनकि मानसिकताले व्यवहार निर्धारण गर्ने हो। यदि एउटा पुरुषमा पुरुष मानसिकता छ भने त्यो मानसिकताले उसको व्यवहार पनि त्यस्तै खालको निर्माण गरिदिन्छ।