रंगकर्मप्रति अथाह उत्साह थियो, ओममणि शर्मा (७९)मा । सानै उमेरदेखि रंगकर्म जागृत भएको मान्दछन् उनी । आफ्नो थातथलो भिमफेदीमा रहँदा नै उनले केही नाटकहरूमा अभिनय गरिसकेका थिए ।
यो ओममणि किशोर हुँदाकै कुरा हो ।
भिमफेदी, चारैतिरबाट पहाडै पहाडले घेरिएको रमाइलो गाउँ । झनै राजधानी उक्लने एउटा महत्वपूर्ण नाका । यात्रुहरूको आउजाउ भइरहने थलो । अर्थात, त्यसैबेला भिमफेदी बजारका रुपमा विकसित थियो ।
तर मनोरञ्जनको साधन केही थिएन गाउँमा । खेलकुदका लागि उपयुक्त ठाउँ पनि खासै थिएन । यसैले पनि केही जागरुक स्थानीय व्यक्तिको पहलमा बेलाबखतमा नाटक मञ्चन हुँदै आएको थियो ।
भिमफेदीमै मञ्चन भएको नाटक ‘मरुभूमीका लेखक’मा रंगकर्मी ओममणि शर्मा पहिलो पटक अभिनय गरे । यो नाटक साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेका थिए ।
यहीँबाट नाटकप्रति उनको रस बस्यो । त्यसपछि उनले भिमफेदीमै अरु पनि केही नाटकमा अभिनय गरे ।
त्यसबेला काठमाडौंका माधव बाबू नाम गरेका एकजना व्यक्ति भिमफेदी गएर बसेका थिए । तिनै माधव बाबूले केटाहरूलाई नाटकको रिहर्सल गराउँथे । अभिनय सिकाउँथे । रंगकर्मी ओममणि शर्माका अनुसार उनी आफैँ पनि राम्रो अभिनय गर्थे ।
सोमबार मध्यवानेश्वरस्थित रंगकर्मी तथा कथाकार ओममणि शर्माको निवासमा पुगेर कुराकानी गर्दा उनी सम्झिँदै थिए भिमफेदीमा गरेको नाटकको कथा । उनले भने, “हामीले एउटा नाटक बालकृष्ण समको पनि ग¥यौं । यो नाटकको रिहर्सल मात्रै छ महिना गरियो । तर जम्मा एक शो नाटक मञ्चन ग¥यौंँ । यस किसिमको आशक्ति थियो, नाटकमा !”
नाटकप्रतिको यही रुझानले कालान्तरमा उनलाई रंगकर्मी बनायो । यद्यपि, रंगकर्मसँगै उनको सम्बन्ध साहित्यमा पनि रह्यो । उनको घरमा संस्कृत र साहित्यका धेरै पुस्तकहरू थिए । उनका पिताजी र काकाहरूले काशीबाट पढेकाले धेरै किताब उनको घरमा थियो । उनले यहीँबाट लेखनको विरासत पाए । किनभने फूर्सदमा उनी साहित्य पढ्थे । स्वाभाविकरुपमा झुकाव त्यसैतर्फ बढ्यो ।
त्यसबेला उनी पटनाको एउटा हाइस्कूलमा पढ्थे । स्कूलमा सत्यनारायण नाम गरेका मास्टरले उनलाई खुबै माया गर्थे । ती मास्टरले ‘तिमी नेपाली भएकोले हिन्दी भाषा पढ्न गाह्रो हुन्छ । म सिकाइदिन्छु । म कहाँ आउँ..’ भन्दै बोलाएर भाषालगायत अरु विषयमा पनि सहयोग गरेका थिए, ओममणिलाई ।
ती मास्टर कलेजमा पनि पढाउँथे । एकदिन तीनै मास्टरको टेबलमा चाङ पानाहरू देखे ओममणिले । जिज्ञासाबस्, ‘यो के हो ?’ भनेर उनले सोधे । सत्यनारायण सरले पनि ‘कलेजको एनिभर्सरीमा कविता प्रतियोगिता हुँदैछ, त्यसैमा आएका कविता हुन्’ भनेर बताए ।
ओममणिले पनि भनेछन् ‘म पनि कविता लेख्छु । मलाई कविता लेख्न आउँछ । लेखुँ ?’ तर मास्टरले ‘तिमी स्कूलको विद्यार्थी हौ । यो प्रतियोगिता कलेजका विद्यार्थीका लागि हो । तिमीले भाग लिन पाउँदैनौ’ भने ।
तर मनले खाएका सत्यनारायण मास्टरलाई उनले अनुरोध गरे । अनुनय गरे । पछि मास्टरले पनि ल्याउ तिम्रो कविता भनेर मागे ।
ओममणिले पनि कविता लेखेर बुझाए ।
न चाह है मुझे अन्तरिक्ष कि उडान की
न चाह है चाँद कि उजली जहान की
मुझे चाहिए कलकल करती गाती सरिता
मुझे चाहिए कजरारी आँखे, मुझे चाहिए धरती ।
कविता सत्यनारायण सरले हेरे । र, ओममणिलाई पनि कविता पढ्ने मौका दिए । तर हिन्दी भाषाकोे लेखनी उति धेरै बढेन, उनको ।
ओममणि भन्छन्, “काठमाडौं आएपछि मात्रै कविता र कथामा मेरो कलम चल्न थाल्यो । यद्यपि, मेरो आशक्ति त्यतिबेला पनि नाटकमै थियो !”
२०२९–०३० साल तिरको कुरा हो । त्यसबेला शर्मा साहित्यिक पत्रकार संघको महासचिव थिए । अध्यक्ष थिए, भवानी घिमिरे ।
साहित्यिक पत्रकार संघले नाटक गर्ने कुरो बैठकमा उठायो । ओममणिलाई नाटकमा रुची थियो । उनले नाईं भन्ने कुरै भएन ।
त्यसबेला त्रिभुवन विश्वविद्यालयमा पढ्दै गरेका नाट्यकर्मी अशेष मल्ल साहित्यिक पत्रकार संघको यस कार्यमा सहयोग गर्नेगरी भित्रिए । अशेष आएपछि साहित्यिक पत्रकार संघले अशेषको नाटक मञ्चन गर्ने भयो । नाटक थियो, ‘तुँवालोले ढाकेको बस्ती’ ।
ओममणि भन्छन्, “मैले भिमफेदीमा नाटक खेलेपछि कहीँ कतै कसैलाई मलाई नाटकमा खेलाउ भनिनँ । जबकी मेरो मनमा जहिल्यै नाटक खेलौंखेलौं भइरहन्थ्यो । तपाईँलाई आश्चर्य लाग्ला, नाटककार बालकृष्ण समजीसँग सम्पर्क हुँदा पनि मैले कहिल्यै समजीलाई अभिनय गर्छुँ भनिनँ । त्यो आँट नै ममा आएन ।”
जब अशेष मल्ल साहित्यिक पत्रकार संघमा आए, ओममणिको रुचिले अभिव्यक्त हुने मौका पायो । उनको नाट्य यात्रा सूचारू भयो । त्यसपछि उनले पछाडि फर्कनु परेन ।
त्यसउप्रान्त ओमले अशेष मल्लसँग नाटक गर्न थाले । यसरी उनले मञ्चमा नाटक गरे । सडकमा नाटक गरे । गाउँ–गाउँ सहर–सहरमा नाटक गरे । सयौं नाटकमा अभिनय गरे । हजारौंँ शो गरे ।
उनी भन्छन्, “मैले अशेषलाई त्यसैबेला भनेको थिएँ अब म तिमीलाई छोडदिन् । र, छोडेको पनि छैन ।”
साहित्यिक पत्रकार संघको आयोजनामा ‘तुँवालोले ढाकेको बस्ती’ प्रज्ञाको प्रेक्षालयमा मञ्चन भयो । ओममणिका अनुसार नाटक टिकटमा शो गरिएको थियो । तर पनि पैसा बचेन । जति आयो त्यति नै खर्च भयो ।
यसरी लामो अन्तरालपछि नाटकमा निथु्रक्क रुझेका ओममणिले सर्वनाम गठन हुनुअघि केही नाटकहरूमा काम गरे । त्यतिबेला ‘हामी वसन्त खोजीरहेछौं’, ‘अतिरिक्त आकाश’लगायतका नाटक मञ्चन भएका थिए ।
०००
मकवानपुरको रमणीय ग्रामिण बजार भिमफेदीमा ओममणि शर्माको बाल्यकाल बित्यो । भिमफेदीभन्दा अलिकमाथि सुपिङ गाउँ छ । उनको परिवारको मूलघर त्यहीँ छ, तर बसोबास चलनचल्तीको ठाउँ भएकोले भिमफेदीमा नै थियो । उनको घरको चलन थियो, कुनै बुहारी पहिलो पटक सुत्केरी हुन मूलघर नै जानु पर्नेे । यो उनका हजुरबुवाले चलाएको चलन थियो ।
मूलघरमा नै जन्मनु पर्ने भएकोले उनकी आमा छ महिना पहिले मूलघर सुपिङ गइन् र उनी जन्मिएको छ महिनापछि भिमफेदी फर्किन् । भिमफेदीमा बालवय बिताएका ओममणि शर्माको सामान्य कखरा र बाह्रखरीको पढाइ भिमफेदीमै सुरु भयो । प्रारम्भिक शिक्षादीक्षाका दिन खुबै रमाइलो भएको उनको सम्झनामा छ ।
स्कूल जाँदा एउटा काँधमा पाटी झुण्डिएको हुन्थ्यो भने अर्को काँधमा ओछ्याउने कपडा झुण्डिएको हुन्थ्यो । यसरी स्कूल गएर ओछ्यान लगाएर उनीहरू लहरै बस्थे । र पाटीमा लेखेर पढ्थे । जब पढाइ सकिन्थ्यो र मास्टरले जाउ भन्थे, उनीहरु फेरि पाटी र ओछ्यान बोकेर घरै फर्किन्थे ।
समय बित्दै गयो । दिन बित्दै गयो । पाटी र ओछ्यान बोकेर स्कूल जाने केटाहरू भिमफेदीकै माध्यमिक विद्यालयमा पढ्न थाले । माध्यमिक विद्यालय भने पनि त्यहाँ कक्षा आठसम्म मात्रै पढाइ हुनेगरेको ओममणि बताउँछन् ।
त्यसपछि उनको पढाइ रोकियो ।
कुराकानी गर्दैगर्दा उनका ओठ फिस्स मुस्काए । भने, “आठ क्लासको पढाइ सकिएपछि त म लावारिस जस्तै भएँ । त्यहाँबाट माथि पढ्न कहाँ जानु ? काठमाडौं जानसक्ने स्थिति थिएन । अन्त जाने कुरै भएन । यसरी मेरो पढाइबीचमै रोकियो । करिब पाँच वर्षसम्म भिमफेदीमा यत्तिक्कै बसेँ ।”
२०११ सालमा भिमफेदीको खोलामा बाढी आयो । भिमफेदीका घर बजारलाई तहसनहस पा¥यो । त्यसपछि उनी मातापिताको साथ लागेर बाढीपीडित भई तराई झरे ।
ओममणिका अनुसार उनका हजुरबुवाले बारा जिल्लाको बञ्जरियामा अलिकति जमीन जायदाद जोडेका थिए । त्यसैले भिमफेदीबाट बञ्जरियामा गएर बसोबास जम्यो उनको परिवारको ।
बञ्जरिया पुगेपछि उनको पढाइले गति लियो । पाँच वर्षपछि ओममणिको पढाइ सुरु भयो । उनी कलैयाको स्कूलमा नौ कक्षामा भर्ना भए ।
तर बञ्जरियाबाट कलैयाँ जाँदा बीचमा नदी पथ्र्यो । जहिले वर्षामा नदीमा पानी बढ्ने । यसरी असार, साउन र भदौ तीन महिना कलैया जान नपाएर कक्षा छुट्थ्यो । तीन महिना घरै बस्थे उनी ।
यसरी कसरी चल्छ ? उनका पिताजीलाई यो प्रश्नले पिरोल्यो । अनि त उनले ओममणिलाई काठमाडौं पु¥याए । विश्व निकेतन हाइस्कूलमा भर्ना गरिदिए । यो २०११–०१२ सालको कुरा हो ।
तर एक्लो ओममणि । उनलाई काठमाडौंमा पढ्न गाह्रो भयो । आफैँ खाना पकाउ । खाउ र स्कूल जाउ । पढ । र फर्किएर फेरि खाना पकाएर खाउ ।
त्यही बीचमा उनी बिरामी परे । काठमाडौंको पानी पचेन, सायद । लगभग एक वर्षपछि उनका पिताजीले उनलाई लिएर तराई नै गए । फेरि बञ्जरियामा उनको दिन बित्न थाल्यो । फेरि पढाइ रोकियो । उनी गाउँमै हरिबिजोग तालले बसे ।
बञ्जरियामा एकजना मास्टर थिए । उनले ओममणिका पिताजीलाई सधै भन्थे, ‘छोरालाई पढाउनूस्’ भनेर । ति मास्टरले सँधै भनिरहेका कारण ओममणिका पिताजीले पनि छोरालाई पढाउने सोचे । तर कहाँ राख्ने ?
अनि तीनै मास्टरले सुझाए सीमावर्ती भारतीय सहरका स्कूलमा भर्ना गरिदिनलाई । ओममणिका पिताजीले पनि ओमलाई मोतिहारी पु¥याए । उनको भर्ना मोतिहारीको हाइस्कूलमा भयो । बल्ल उनको पढाइले लय समातेको थियो ।
त्यसको एक वर्षपछि उनी पटना गए । पटनामा उनी दुई वर्ष बसे । पटनाबाटै उनले सेकेन्ड डिभिजनमा म्याट्रिक (एसएलसी) पास गरे ।
पढाइ सक्याएर उनी बञ्जरिया फर्किए । वीरगंजमा स्थापना भइसकेको ठाकुरराम कलेजमा आइकममा भर्ना भए । र त्यहीँबाट आइकम पास भए ।
त्यसपछि उनी फेरि काठमाडौं उपत्यका भित्रिए । उनी काठमाडौं आउँदा महेन्द्रले पञ्चायती व्यवस्था सुरु भइसकेको थियो । विद्यार्थीहरू पञ्चायतविरुद्धमा उठीरहेका थिए ।
उनले त्रिचन्द्र कलेजमा बीकममा भर्ना लिए । कलेज जान थाले । तर पञ्चायती शासनविरुद्ध उनी चुप बस्न सकेनन् । उनी पनि विद्यार्थीहरू नेताहरूसित आन्दोलन र जुलुसमा सहभागी हुँदै गए ।
बेलाबेलामा उनी पक्राउ पनि पर्थे । कहिले दुई–चार दिन त कहिले अलिक लामै समय थुनामा पनि परे । बीकमको पढाइ पनि चलिरहेकै थियो । तर आन्दोलन र पक्राउले पढाइ अल्मलिइरहेको थियो ।
ओममणि हाँसे । भन्छन्, “उता घरबाट पिताजीले खर्च पठाउनु हुन्थ्यो, छोरोले पढ्ला भनेर । तर यता छोरो आन्दोलनमा लागेर पढाइ हाप्दैछ ! तपाईँलाई भनुँ, कस्ट एकाउण्टको परीक्षाको दिन म डीएसपी कार्यालयमा थुनामा परेको थिएँ । जाँच दिनै पाइएन । तर यो कुरा पिताजीसम्म पुग्न पाएन । पछि मैले प्राइभेट परीक्षा दिएर बीकम पास गरेँ ।”