जातीय एवं वर्गीय वर्चस्व स्थापित गर्ने काम विभिन्न स्तरमा हुने गर्दछ। कला क्षेत्रमा त यस्तो झन् धेरै हुन्छ। यसको असर पनि लामो समयसम्म हुने गरेको पाइन्छ।
बेलायति शासनपछि स्वतन्त्र भएको भारतमा योग, धर्मशास्त्र, लोककला जस्ता पूर्वीय सांस्कृतिक सम्पदा अन्य देशका अन्वेषकका लागि कौतुहलको विषय थियो। प्रभावशाली जाति एवं वर्गले मौकाको फाइदा उठाउँदै भारतीय कलामा कब्जा जमाए। यसरी उपल्लो वर्गका मानिसले कलामा गरेको कब्जाको गतिलो उदाहारण भरत नाट्यम् हो।
देवदासीहरुको नाच कसरी सम्भ्रान्त वर्गका महिलाको इज्जतको नाच बन्यो भन्ने इतिहासको खोजले नै यसको पुष्टि गर्दछ। यो कला सिक्न स्कुल र एकेडेमी खुले। तर त्यहाँ सहज रुपमा जोसुकैले प्रवेश पाउन सम्भव भएन। यो नृत्य पैसा र इज्जतको विषय बन्यो। विदेशमा समेत यसको माग हुन थाल्यो। विदेशमा यसको शो गरेर यसलाई थप सम्भ्रान्त वर्गमा पुर्याइयो।
के हो देवदासी प्रथा?
प्राचीनकालदेखि नै मन्दिरमा देवदासी राख्ने प्रथा रहेको थियो। आजसम्म पनि यो प्रथा पूर्ण रुपमा बन्देज नलागेको सुन्न पाइन्छ। यसविरुद्ध भारतमा पहिलो पटक सन् १९४७ मा कानुन निर्माण गरेर प्रतिबन्ध लगाइयो। १९८८ मा पूरा भारतभर यस्तो कार्य गर्नु गैरकानुनी भएको घोषणा गरियो।