बाढी प्रभावितलाई सांसद यादवद्वारा एक महिनाको तलब  सहयोग

तस्बिरः बिएल

वीरगन्ज । पर्साका बाढी प्रभावितलाई प्रतिनिधि सभा सदस्य प्रदीप यादवले एक महिनाको तलब आर्थिक सहयोग गरेका छन्।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मंगलबार सांसद यादवले ५५ हजार २ सय ५० रूपैयाको चेक हस्तान्तरण गरेका हुन्।

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिए।

उनले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पुरै जिल्ला नै प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित बुझ्दो नभएको गुनासो गरे।

सांसद यादवले दिएक चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले प्राप्त  आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताए।

उनले दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितालाई सक्दो सहयोग गर्न प्रजिअ भट्टराईले सर्वसाधारणलाई अपिल गरे।

असारको अन्तिम सातामा परेको अविरल वर्षासँगै आएको बाढीबाट पर्सामा ४३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2019-07-16 14:58:33

प्रतिकृया दिनुहोस्