काठमाडौं : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्।
चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो।
भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए। नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए।