मलेसियालाई दोस्रो टी-२० मा ६ रनले हराउँदै नेपालले २ खेलको टी-२० अन्तर्राष्ट्रियको सिरिज क्लिनस्वीप गरेको छ। इतिहासकै पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको नेपालले कीर्तिमान बनाएको छ। यसअघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जिते पनि क्लिन स्विप गरेको थिएन।
किनरारा ओभल मैदानमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाए पनि नेपाललाई रोक्न सकेन।
आक्रमक सुरूवात गरेको मलेसियाले पहिलो विकेटको लागि भिरनदिप सिंह र सयद अजिजले ७५ रनको साझेदारी गरेका थिए।
दशौं ओभरमा अविनाश बोहराले भिरनदिपलाई विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।
अघिल्लो खेलमा अर्धशतक बनाएका भिरनदिपले २३ बलमा २ चौका र १ छक्का मदतले २३ रन बनाएर आउट भए।
पहिलो विकेट गुमे पछि भने मलेसियाले लगातार विकेट गुमायो। अर्धशतक पुरा गरेर सयद अजिजलाई सोमपालले ११ औं ओभरमा आउट गरे। ३७ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए।
त्यसपछि सोमपाललेनैं १३ औं ओभरमा १० रन बनाएका शफिक शरिफलाई आउट गर्दै तेस्रो विकेट लिए।
सन्दिप लामिछानेले ७ रन बनाएका अनवर अरुदीनलाई आउट गरेपछि मलेसियाको चौथो विकेट गुम्यो। कप्तान अहमद फैज १७ रन बनाएर आउट भएपछि नेपालले पाँचौ सफलता पायो।
एक समय मलेसिया १६ औं ओभरमा ११५/५ को नाजुक अवस्थामा थियो। तर, छैठौं नम्बरमा ब्याटिङ गरेका अमिनुद्दीन रामलेले विस्फोटक ब्याटिङ गर्दै मलेसियाको सम्भावना कायमै राखे।
कप्तान पारसले १७ औं ओभरमा ३ छक्कासहित २० रन खर्चिए पनि १ विकेट लिएका थिए। अमिनुद्दीनले ११ बलमा ३ छक्का मदतले २४ रन बनाएका थिए।
अन्तिम २ ओभरमा मलेसियालाई २८ रन आवश्यक हुँदा करन केसीले १९ औं ओभरमा १४ रन खर्चिएर १ विकेट लिएर मलेसियालाई दबाबमा राखे। पहिलो २ बलमा मुहमद स्याहादतलाई चौका र छक्का दिएका उनले ओभरको पाँचौ बलमा मुनिएन्डीलाई क्याच आउट गराएर सातौँ विकेट दिलाए।
अन्तिम ओभरमा मलेसियालाई ६ बलमा १४ रन आवश्यक थियो। बलिङ गर्न आए अविनाश बोहरा।
पहिलो बलमा लेग बाइमा १ रन दिएका उनले दोस्रो बलमा स्याहादतलाई २ रन दिए। अविनाशले त्यसपछि लगातार ३ बलमा रन दिएनन्। अन्तिम बलमा स्याहादतले चौका प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्।
स्याहादतले अविजित ११ बलमा २१ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा करन केसी, अभिनास बोहोरा र कप्तान पारस खड्काले समान १-१ विकेट लिए।
सोमपाल कामि ( ४-०-२५-२ )
सन्दिप लामिछाने ( ४-०-३८-२ )
करन केसी ( ३-०-२९-१ )
अविनाश बोहरा ( ४-०-२५-१ )
पारस खड्का ( २-०-२३-१ )
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो।
नेपालका लागि विनोद भण्डारीले अर्धसतकीय इनिङ्स खेल्दै सर्वाधिक ५१ रन बनाए। मात्र २५ बलमा अर्धसतक पुरा गरेका भण्डारीले ५ छक्का र ३ चौका प्रहार गर्दै नटउट रहे।
सँगै विनोद टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
शरद भेसवारले ४० रनको योगदान दिए। २८ बल खेलेका भेसवाकरले ४ चौका र २ छक्का हिर्काएका थिए।
कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाउँदै आउट हुने क्रममा २ छक्का र २ चौका प्रहार गरे।
रोहित कुमार पौडेलले १९ रन बनाउँदा करन केसीले १६ रन बनाए।
ओपनर पवन सरार्फले १० रन बनाउँदा ज्ञानेन्द्र मल्ल ७ रनमा पवेलियन फर्किए। सोमपाल कामी १ रनमा अभिजित रहे।
मलेसियाका लागि फित्री शामले ३ विकेट लिँदा शेयद अजाद र मुनेन्द्रीले १-१ विकेट लिए।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गरेको हो।
आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।