क्वालालाम्पुर । घरेलु टोली मलेसियासँगको दोस्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालो पट्टि बाँधेर खेल्ने भएको छ ।
विगत केही दिनदेखि आएको अविरल वर्षापछिको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको स्मृतिमा नेपाली टोलीले कालो पट्टि बाँधेर खेल्ने निर्णय गरेको हो।
नेपालमा लगातार परेको वर्षाका कारण धेरै जनधनको क्षति भएकाले भोलिको खेलमा कालो पट्टि बाँधेर खेल्ने निर्णय लिएको कप्तान पारस खड्काले बताएका छन्।
त्यस्तै नेपाली टोलीले खेलअघि एक मिनेट मौनधारण गर्न लागेकोसमेत कप्तान खड्काले जानकारी दिए।
देशको विभिन्न भागमा आएको बाढीका कारण ३० जनाको मृत्यु हुनुका साथै दर्जनबढी बेपत्ता भएका छन्।
नेपालले आजको पहिलो खेलमा कप्तान पारस खड्काको अविजित ८६ रनको मद्धतमा मलेसियालाई ७ विकेटले हराउँदै दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ।