काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा जितका लागि १२९ रनको लक्ष्य पाएको छ।
किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १२८ रन बनायो।
मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए। ४९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान अहमद फैजले ३९ बलमा ४५ रन बनाएका थिए। उनले २ छक्का हिर्काएका थिए।
ओपनर शेयद अजिद शून्य रनमा आउट हुँदा फित्री शाम १२ रनमा आउट भएका थिए।
मलेसियाका ५ खेलाडी शुन्यमा आउट भएका थिए भने बाँकी खेलाडीले पनि दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालका लागि करन केसीले ३ विकेट लिए। बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए।
करनले आफ्नो अन्तिम ओभरमा ३ रन खर्चिएर ३ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका करनले २७ रन खर्चिने क्रममा ३ चौका र १ छक्का दिएका थिए।
बसन्तले आफ्नो चार ओभर स्पेलमा २८ रन खर्चिएर २ विकेट लिए। उनले १ छक्का दिएका थिए।
यस्ते सन्दीपले आफ्नो चार ओभर स्पेलमा २५ रन खर्चिएर दुई विकेट लिने क्रममा २ छक्का दिए। यो सँगै सन्दीपले आफ्नो टी ट्वान्टी अन्तर्राट्रियमा ६ खेलबाट ७ विकेट लिएका छन्।
नेपालले आज युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, पवन सरार्फ र अभिनास बोहोरालाई सुरूवाती ११ मा राखेको छैन ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।
मलेसिया नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । नेपालको लक्ष्य पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ। नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ।
आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो। माघमा भएको सो सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो ।
हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।
हेर्नुहोस् भिडियोमा