कोशी ब्यारेजका २७ वटा ढोका खोलिए, बालियो 'रातो बत्ती'

बौलाहेको छ- सप्तकोशी । खोलिएका छन् कोशी ब्यारेजका २७ वटै ढोका । बालिएको छ रातो बत्ती ।

कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ७ हजार २९० क्युसेक पुगेपछि ब्यारेजका २७ वटा ढोका खोलेर रातो बत्ती बालिएको हो ।

विगत चार दिनदेखि आएको अविरल वर्षाका कारण नेपालका मध्य तथा पूर्वी भागका सबै खोला तथा नदी बौलाएका छन् । कमला र सप्तकोशी उर्लिएपछि सुनसरी, सप्तरी र सिराहाका बासिन्दालाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

त्रियुगा खोलामा आएको बाढीले खोलाको बाँध नाघेर सप्तकोसी नगरपालिका वडा नम्बर ३ को मुसहर बस्तीका ३५, वडा न. ७ मा चौधरी बस्ती २५ घरमा डेढ फिट पानी जमेको छ। तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित राजविराजबाट भारतको कुनौली जाने सडक खण्डको खाडो खोलामा बाढी आएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको छ।

कर्जन्हा नगरपालिका-२ कमला खोलाको पुलभन्दा दुई किमि उत्तर कमला खोलाको बीच टापुमा मानिस फसे पनि उद्धार गर्न सकिएको छैन । 

सिरहा लहान नगरपालिका वडा नम्बर १ र २ मिलनचौकका ५० घर वर्षाका कारण डुबानमा परेका छन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत-जावत ठप्प छ ।

रौतहट पूर्णरुपमा डुबानमा परेर जनजीवन अस्तव्यस्त बनेको छ ।

सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ ।

 

 

प्रकाशित मिति: : 2019-07-13 08:58:01

प्रतिकृया दिनुहोस्