आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

तस्बिरः बिएल

काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ ।

विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा लगिएको छ ।

नेपालगञ्जबाट काठमाडौं आएको चालकदलसहित ६६ यात्रु सवार यति एयरलाइन्सको एटिआर–७२ विमान विमानस्थलमा अवतरणका क्रममा बिहान ११:५ बजे चिप्लिएको थियो।

विमानस्थलका अनुसार यतीको उक्त जहाजमा चालकदलका तीन सदस्य तथा दुई शिशुसहित ६६ यात्रु सवार थिए। जहाज चिप्लिएर घाँसे मैदानमा पुग्दा तीन यात्रु सामान्य घाइते भएका छन्। सबैको सकुशल उद्धार गरिएको थियो।

विमान धावनमार्गबाट करीब १०० मिटर पर घाँसे मैदानमा धस्सिएको थियो। विमान धस्सिएपछि विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध भएको थियो ।

विमानस्थल बन्द भएपछि बिहानदेखि अहिले साँझसम्मका करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान-अवतरण रोकिएका थिए। जसका कारण नेपाल छाड्नुपर्ने र आउनुपर्ने गरी हजारौं यात्रु अलपत्र परेका थिए।

काठमाडौं अवतरण गर्न आइरहेको अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज विमानस्थल बन्द भएका कारण धेरै समय होल्ड गरेर भारत र बंगलादेशका विमानस्थलमा डाइभर्ट भएका थिए। कतार एयरवेज, मालिन्दो एयर, थाई एयरवेज, विमान बंगलादेश लगायतका आधा दर्जन बढी जहाज दिउँसो लामो समय होल्डमा बसेका थिए।

यतीको जहाज मुख्य धावनमार्गबाट करिब १० मिटरजति रनवे स्ट्रिपमा धसिएको थियो। यस्तो अवस्थामा अन्य जहाजलाई उडान र अवतरण गर्न मिल्दैन, तिनका पखेटाले यो जहाजमा छुन सक्छ। उडान सुरक्षाका लागि विमानस्थल बन्द गरिएको थियो।

विमानस्थलका अनुसार चिप्लिएर रनवे स्ट्रिपमा पुगेको यतीको जहाजको बायाँपट्टिको पाङ्ग्रा ‘ल्यान्डिङ गियर’ चौरमा धसिएपछि बाहिर निकाल्न सकस भएको थियो। जहाज बाहिर निकाल्न अर्को वायुसेवा कम्पनी बुद्ध एयर, नेपाल वायुसेवा निगम, नेपाली सेना, विमानस्थल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोली बिहानैदेखि खटिएको थियो।

 

प्रकाशित मिति: : 2019-07-12 21:36:50

प्रतिकृया दिनुहोस्