किम र पुटिनबीच रूसमा भेटवार्ता : यस्तो भयो कुराकानी

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता असफल भएपछि रूसको भ्रमणमा निस्केका उत्तर कोरियाका नेता किम जोङ–उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ।

उनीहरूबीच रुसको तटीय शहर भ्लाडिभोस्तोकमा पहिलोपटक वार्ता भएको हो।किम रेल चढेर भ्लाडिभोस्तोक पुगेका थिए भने पुटिन पनि भेटवार्ताका लागि मस्कोबाट त्यहाँ आएका थिए। 

कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल भएको भेटमा उनीहरुले दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनु पर्नेमा जोड दिएको बताइएको छ।

किम र पुटिनबीचको भेटवार्तालाई लिएर अलजजिराले एक सामग्री तयार पारेको छ। हामीले त्यसको नेपाली अनुवाद यहाँ प्रस्तुत गरेका छौं ।

उत्तर कोरियाली नेता किम जोङ–उन आफ्ना रुसी समकक्षी भ्लादिमिभर पुटिनसँग भेटवार्ताको लागि रुसमा छन् ।किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ता एक्कासी अन्त्य भएको सन्दर्भमा यो वार्ता हुदैंछ । 

बिहिबार रुस–उत्तर कोरिया नेताको भेटघाट भयो । विश्लेषकले यस भेटमार्फत किमले आफ्नो नेतृत्वलाई समर्थन गर्ने अन्य शक्तिहरु अझै सो क्षेत्रमा रहेको सन्देश दिन खोजेको बताएका छन् ।

भियतनामको शिखर वार्ता रद्ध भएपछि किमले अमेरिकाबाट अपेक्षा गरेको प्रतिवन्ध फुकुवा पाउन असफल भए । उनले त्यो अभावलाई पुटिनसँगको वैठकबाट पुरा गर्ने प्रयास गर्नेछन् । 

संयुक्त राष्ट्रले प्रतिबन्धको प्रस्ताव गर्दा भिटो लगाएको भए पनि रुसले उत्तर कोरियामाथिको प्रतिबन्ध पूर्ण रुपमा कार्यन्वयन गरिरहेको छ । तर रुसले पछिल्लो समय चीनसँग मिलेर उत्तर कोरियामाथिका प्रतिबन्ध न्यूनिकरण गर्नु पर्ने माग गरिरहेको छ । उत्तर कोरियाले हतियार परिक्षणमा नियन्त्रण गरेकाले यस्तो सहुलियत दिनुपर्ने पक्षमा यी दुई राष्ट्र उभिएका छन् ।

रुस नै किन ?

रुससँगको उत्तर कोरियासँगको सम्बन्ध उसको स्थापना कालदेखिकै हो । १९५०–५३ को कोरियाली युद्धपछि मस्कोले उत्तर कोरियालाई पुनःनिर्माण गर्न सघाएको थियो । तत्कालिन समयमा दुवै राष्ट्रले साम्यवादी सिद्धान्तप्रति प्रतिबद्धता जनाएकाले पनि ती नजिक थिए  ।

वर्तमान रुसी राष्ट्रपतिको उत्तर कोरियासँगको सम्बन्ध पुरानो हो । सन् २००० मानै प्योङयाङ भ्रमण गरेका पुटिनले वर्तमान नेताका पिता किम जोङ इलसँग केही पटक भेटेका पनि छन् ।

सोभियतकालिन रुसको उत्तर कोरियासँग अत्यन्त राम्रो सम्बन्ध थियो । तर सोभियत संघको पतनसँगै यसमा असर परेको थियो । तर पुटिनले यसलाई पुनः नविकरण गर्ने प्रयासमा छन् ।

उत्तर कोरियाले पनि रुसलाई आन्तरिक मामिलामा हस्तक्षप नगर्ने पुरानो तथा विश्वसनीय छिमेकीको रुपमा हेर्ने गरेको एक उत्तर कोरिया विज्ञले बताए ।

रुसी भ्रमणका एजेण्डा के हुन् ?

रुसको शिखर वार्ताको लागि देश छाड्दै गर्दा किमका तत्कालिन चासो दुई  वटा थिए । पहिलो त रुसमा रहेका उत्तर कोरियाली श्रमिकको मुद्दा हो भने अर्को उनको देशमा जारी खाद्य संकट पनि यसमा समावेश छ ।

रुसमा एक समय उत्तर कोरियाली श्रमिक ५० हजारसम्म पुगेका थिए । त्यहाँ अझै लगभग १० हजार उत्तर कोरियाली श्रमिकहरु काम गर्छन् । सन् २०१७ मा संयुक्त राष्ट्र संघले पास गरेको प्रतिबन्ध यस वर्षको अन्त्यमा लागु हुने भएपछि सबै उत्तर कोरियालीहरुले रुस छाड्नु पर्छ ।

रोयर्टस समाचार एजेन्सीले अवलोकन गरेको कागजात अनुसार रुसमा रहेका उत्तर कोरियाली श्रमिकले वार्षिक ५० करोड अमेरिकी डलर देश पठाउँछन् ।

“किमको भ्रमण पछि यो संख्यामा कमी आउन बन्द हुन सक्छ,” मस्कोस्थित इन्स्टीच्युट अफ रिजनल इस्युका निर्देशक दिमित्री झुराभलेभले भने ।

तर श्रमिकहरुको उपस्थितीले रुसलाई पनि फायदा गरिरहेको छ । विभकाय राष्ट्र रुसका न्यून जनसंख्या रहेका प्रान्तहरुमा रहेको खेतमा खेतिपाती गर्न, काठ चिरानी गर्न , खनिज उत्खनन गर्न कमी भएका श्रमिकलाई यीनले पुरा गरिरहेका छन् ।

किमले मस्को भ्रमणका क्रममा खाद्य संकटको कुरा पनि उठाउनेछन् । यस गृष्ममा देखिन सक्ने खाद्य संकटमा रुसले मानवीय सहायता प्रदान गर्ने रुचि देखाएको छ ।

यसैलाई ध्यान दिएर रुसले अघिल्लो महिना उत्तर कोरियामा २००० टन गहुँ पठाएको थियो ।

के चाहन्छ रुस ?

क्रेमलिनले भने किमको भ्रमणलाई कोरियाली आणविक संकटमा प्रमुख विकास बताएको छ ।

“भ्रमणको मुख्य ध्यान कोरियाली प्रायद्विपको आणविक समस्याको राजनीतिक र कुटनीतिक समाधान हुनेछ,” पुटिनका सहयोगी युरी एशकोभले मंगलबार एक पत्रकार सम्मलेनका क्रममा भने ।

शुक्रबार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताले ‘द्वीपक्षीय सम्बन्ध’ छलफल गर्ने जानकारी दिए । यसमा ‘आणविक निशस्त्रीकरण, क्षत्रिय सहकार्य’ जस्ता कुरा प्रमुख हुने उनले बताए ।

पुटिनले विगतदेखिनै वासिन्टनले कोरियामाथि थोपरेको प्रतिबन्धप्रति असन्तुष्ट छन् । रुसी राष्ट्रपति पुटिन चीनको राजधानीमा आयोजना हुन लागेको ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ्ससम्बन्धी महत्वपूर्ण अन्तराष्ट्रिय वैठकमा भाग लिन जादैछन् । विज्ञहरु यसै कारणले उनले अहिले नै कुनै नयाँ प्रतिबद्धता नगर्ने बताएका छन् ।

भ्रमणबाट किमले के पाउनेछन् ?

उत्तर कोरिया चीनमाथि रहेको आफ्नो आर्थिक निरभरता कम गर्नको लागि पनि रुससँग आर्थिक सम्बन्ध विकास गर्न चाहन्छ ।

‘रुसले उसको अर्थतन्त्रमा के गर्न सक्छ भनेर किमले बुझ्नु आवश्यक छ ,’ रुसका पूर्व उप–विदेश मन्त्री एण्ड्रे फ्योदोरोभले भने , ‘रुस र चीनबीना, उत्तर कोरियाले कुनै पनि संकटबाट पार पाउन असम्भव छ ।’

उत्तर कोरिया उसको प्रमुख व्यापरिक सहयात्री चीनसँग लामो समयदेखि परनिर्भर छ ।

किमले आफ्नो दक्षिणी छिमेकी दक्षिण कोरियालाई अन्तर–कोरियाली परियोजनामा सहभागी हुनको लागि दवाव दिइरहेका छन् । यसका पछाडि पनि देशको कमजोर अर्थतन्त्रलाई सहयोग हुने गरी पूर्वाधार निर्माण गर्नु रहेको विज्ञहरु बताउछन् ।

अधिकारीका अनुसार रुस र उत्तर कोरियाबीचको व्यापर सन् २०१७ मा ६ करोड अमेरिकी डलर भएकोमा, एक वर्षपछि घटेर ३.४ करोड अमेरिकी डलरमा पुग्यो । 

उत्तर कोरियाले विगतदेखिनै रुससँग युरोप जोड्ने रेल रुटजस्ता ठूला परियोजनाको कुरा उठाइरहेको छ ।

अमेरिका–उत्तर कोरियाबीचको वार्तामा असर गर्ला त ?

भियतनामको वैठक उत्तर कोरियाली र अमेरिकी नेताबीच दोस्रो वार्ता थियो ।

अघिल्लो वर्ष भएको ऐतिहासिक वैठक सामान्य सहकार्यको वक्तव्य जारी गर्दै सकिएको थियो । त्यसले कुनै ठोस परिठाम दिन सकेन ।

“मस्को र प्योङयाङबीचको वैठकले वाशिन्टन र प्योङयाङबीचको वैठकलाई कुनै असर गर्दैन ,’ कोरिया इन्टीच्युट अफ नेसनल युनिफिकेसनका वरिष्ठ अद्यता चो हान बमले भने ।

‘यसले कुनै परिणाम पनि दिने छैन । हालसालै उत्तर कोरियाको लागि अमेरिकी विशेष दूत स्टेफन बेइगनले रुसको भ्रमणमा गएका थिए । उनका साथ उप विदेशमन्त्री पनि थिए । उनीहरु मार्फत ट्रम्पले आफू उत्तर कोरियाको आणविक समस्या चरणवद्ध समाधान गर्ने पक्षमा नरहेको सन्देश पठाएका थिए,’ चोले भने ।

 

प्रकाशित मिति: : 2019-04-25 18:21:13

प्रतिकृया दिनुहोस्