अफताब आलमको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको स्वास्थ्यमा सुधार आएको छ। आलम काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन्।

अस्पतालले आलमको अहिले स्वास्थ सुधारन्मुख रहेको जानकारी दिएको छ। अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिँदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ।

जेठ १६ गते बिहान करिब ७ः०० बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा राखिएको जनाएको छ।

उनको शारीरिक, रगत तथा एमआरआई जाँच पश्चात उनलाई मस्तिष्कघात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ।

अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल प्रशासनले जनाएको छ।

रौतहटको राजपुर बमकाण्डको अभियोगमा ५ बर्ष ८ महिना ८ दिन कारागार बसेका आलमलाई उच्च अदालतले सफाइ दिएसँगै गत बुधबार रिहा भएका थिए।

प्रकाशित मिति: : 2025-05-31 12:12:00

प्रतिकृया दिनुहोस्