पार्टी नेतृत्वलाई शेखर कोइरालाको ‘कडा खबरदारी’ (भिडिओसहित)

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गलत काम हुँदा पनि टुलुटुलु हेरेर नबस्न कार्यकर्तालाई भनेका छन्। 

शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका हुन्। नेपाली काँग्रेस सरकार भएर अहिले प्रधानमन्त्रीले जे गर्दा पनि छुट दिएको भन्दै उनले आफ्नै नेतृत्वको पनि आलोचना गरे। 

‘यसरी नराम्रो काम हुँदा पनि टुलुटुलु हेरेर बस्ने हो भने हामी बिपीका अनुयायी कसरी हुनसक्छौं?’ कोइरालाले भने ‘बिपीका अनुयायी नभएर कसरी नेपाली काँग्रेसका कार्यकर्ता हुनसक्छौं? म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु।’ 

उनले नेपाली काँग्रेस सत्तामा भए पनि सरकारमा नभएको फेरि दोहोर्‍याए। त्यस कारण पनि प्रधानमन्त्रीले मनपरी गरिरहँदा चुप लागेर नबस्न पनि उनले नेतृत्वलाई भने।  

‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन। हामी सरकारमा छौं तर सत्तामा छैनौं। राज्यको सत्ता बेग्लै कुरा हुन्छ। सरकार बेग्लै कुरा हुन्छ। मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ’ कोइरालाले भने। प्रधानमन्त्री काठमाडौं कब्जा गर्नेजस्ता उत्तेजक भाषण दिँदा पनि काँग्रेस चुप लागेर बसेको उनको आरोप थियो। त्यस्तै उनले आफू फुर्सद नभएको बाहाना गरेर राष्ट्रिय मानवअधिकारको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे। 

त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे। 

उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ। 
उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ। तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ’ कोइरालाले भने। 
 

प्रकाशित मिति: : 2025-05-30 19:21:00

प्रतिकृया दिनुहोस्