रातारात मन्त्रालय तान्दापनि जोगिएनन् सहसचिव, भारत बेच्न थालियाे विद्युत (भिडियो समाचार)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। 

मंगलबारमात्रै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो। 

उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे बताइएकाे छ।

भिडियो-

000

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेका गभर्नर पौडेलले त्यस लगत्तै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहणपछि गभर्नर पौडेलले पहिलो निर्णयका रुपमा पचास र १ हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

000

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन्। 

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै 
उनले यस्ताे बताएका हुन्। 

अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारतमा निर्यात शुरु भएकाे उनकाे भनाइ थियाे।  

000

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको साथ खोज्दै पत्राचार गरेको छन्। 

संयोजक नवराज सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सहकार्यका लागि पत्राचार गरेका हुन्।

 वर्तमान राजनीति व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पुरा गर्न नसकेको र चरम दलीयकरणप्रति रास्वपा पनि असन्तुष्टि रहेको जनाउँदै जेठ १५ गतेदेखि घाेषणा गरेकाे आन्दोलनमा साथ दिन पत्राचार गरेकाे हाे। 

000

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन्। 

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन्। 

विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएकाे उनकाे भनाइ थियाे।

000

अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। 

बुधबार थापाका तर्फबाट अधिवक्ता अमृतकुमार केसीले लिखित जवाफ पेस गरेका हुन्। 

थापाले अधिवक्ता केसीमार्फत पठाएको जवाफमा अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष हुन नसक्ने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित वा सङ्कुचन पनि गर्न नपाइने भनिएको छ।

गगन थापाले वैशाख ११ गते ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए। 

000

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आवेदन गरेकै दिन श्रम स्वीकृति दिने जनाएको छ। 

श्रम स्वीकृतिको कार्यलाई अझ बढी चुस्त, दुरूस्त र प्रभावकारी बनाउन अनलाइनमार्फत आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको हो।

अनलाइन सेवा कार्यालय समयभित्रै जारी हुने व्यवस्था गरेर सेवाग्राहीलाई सहज बनाएकाे विभागले जनाएकाे छ। 

000 

एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।

बुधबार सुनकाे मूल्य बढेसँगै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

त्यसैगरी चाँदीको मूल्य पनि ताेलामा ५० रुपैयाँले बढेको छ। याेसँगै चाँदी प्रतिताेला १ हजार ९ सय ९० रुपैयाँ पुगेकाे हाे। 

प्रकाशित मिति: : 2025-05-21 20:35:00

प्रतिकृया दिनुहोस्