नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेललाई सरकारले बरिष्ठ पत्रकार ‘सम्मान २०८१’ प्रदान गरेको छ। दाङको घोराहीबाट प्रकाशित हुने गोरक्ष दैनिकका सम्पादकसमेत रहेका पोख्रेलले करिब दुई दशक नेपाल पत्रकार महासंघका विभिन्न पदीय जिम्मेवारीमा रहेका थिए।
मोफसलबाट पत्रकारिता गर्दागर्दै पत्रकारिता क्षेत्रको उच्च पदमा पुगेका पोख्रेल महासंघका पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष पनि हुन्। संघीयतासँगै नेपाल पत्रकार महासंघको नेतृत्व पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिदैं आएको छ।
युद्धकालका बेला पोख्रेल नेपाल पत्रकार महासंघको उपाध्यक्ष थिए। उनले त्यो बेला युद्धको मारमा परेका धेरै पत्रकारहरूका लागि राज्य र तत्कालीन विद्रोहीसँग मध्यस्थता गरेका थिए।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पोख्रेलसँगै प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेत पनि बरिष्ठ पत्रकार सम्मानबाट सम्मानित भएका छन्। सञ्चार मन्त्रालयले राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका थिए।
पोख्रेल र बस्नेतलाई बरिष्ठ सम्मानसँगै छ जना अरु पत्रकारहरूले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्। विमल गौतम, दिपेन्द्र श्रेष्ठ, लोग्शरी कुँवर, दिपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई राष्ट्रिय पत्रकारित पुरस्कार २०८१ प्रदान गरिएको हो।
पत्रकारहरूलाई सम्मान र पुरस्कार दिँदै राष्ट्रपति पौडेलले देशको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका थिए। पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको पनि बताए।