लामो समय नेपाल पत्रकार महासंघको नेतृत्वमा रहेका पत्रकार विपुल पोख्रेल अब ‘कविता’ संग्रह लिएर आएका छन्। उनले लेखेको ‘बाको अनुहार’ कविता संग्रह शनिबार एक समारोहबीच दाङमा विमोचन गरिएको छ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेल कार्यकालपछि गृहजिल्लामै छन्। त्यहीँ आयोजित एउटा समारोहमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनको कविता संग्रह विमोचन गरेका हुन्।
समाज, परिवर्तन, स्वतन्त्रता, राष्ट्रियता, प्रेमका बिषयहरुमाथि कोरिएका भावात्मक ३० वटा कविताहरू ‘बाको अनुहार’मा समाविष्ट छन्।
कविता सङ्ग्रह विमोचन गर्दै महामन्त्री शर्माले साहित्य समाज परिवर्तनको ऐना रहेको भन्दै साहित्य मार्फत मुलुकलाई सही बाटोमा लैजान सकिने बताए।
‘कला साहित्यले मुलुकलाई सही बाटोमा लैजान सक्छ,’ महामन्त्री शर्माले भने ‘समाजमा रहेका नकारात्मक कुराहरूलाई कला र साहित्य मार्फत सच्याउन सकिने भएकाले समाज परिवर्तनका लागि कला साहित्य महत्त्वपूर्ण विधाका रुपमा रहन्छ।’
त्यस्तै शर्माले साहित्यिक लेखनले विपी कोइराला, नेहरुजस्ता व्यक्तिले आफ्नो उचाई हासिले गरेको चर्चा पनि गरेका थिए। ‘राजनीति गर्नेहरुले पनि लेख्दै जाँदा परिवर्तनका यात्राहरुलाई सम्भव तुल्याएका छन्, त्यसैले लेखनको अलग महत्व हुन्छ’ उनले भने।
पोख्रेलले आफ्नो कविता सङ्ग्रहमा बाबुका बारेमा कविता कोरेका छन् भने छोरा प्रतिको आमाको प्रेम र चिन्तनलाई पनि समेटेका छन्।
यसैगरी यो कविता सङ्ग्रहमा देशभक्ति भाव ओतप्रोत कविताहरू पनि समेटिएका छन् भने माया प्रेमका भावलाई पनि पोख्रेलले कविता मार्फत उजागर गरेका छन्।
समीक्षक डा.कृष्णराज डिसीले प्रस्तुत कृति नेपाली साहित्यको आकाशमा एउटा बलियो उपस्थितिका रुपमा आएको चर्चा गरेका थिए। अर्का समीक्षक डा.टिकाराम उदासीले विषयबस्तुका दृष्टिले कवि पोख्रेलले आफूलाई अब्बल देखाउन सफल भएको चर्चा गरे । आमामाथि प्रशस्त साहित्य लेखिएको भएता पनि पितामाथि थोरैमात्र साहित्य लेखिने भन्दै उनले बाको बारेमा कविता लेखेर त्यसैका आधारमा संग्रहको पनि नामाकरण गरेको बताए। टिप्पणीकर्ताहरूले यसलाई साहित्यमा नयाँ अभ्यास भनेर टिप्पणी गरेका थिए।
विमोचन समारोहमा पोख्रेलले साहित्यले मानिसलाई अनुशासित, अन्तरक्रियात्मक र आत्मसमिक्षक बनाउने चर्चा गर्दै कृतिकार पोख्रेलले आफ्नो कृतिलाई सोही अनुसारले ग्रहण गर्न र रसस्वादनको संस्कृतिलाई बल दिन पाठकलाई आह्वान गरे।
केही समय अघि गीत लेखनमा रहेका पोख्रेल महासंघ प्रवेश पश्चात् कलाकर्मबाट अलि टाढिएका थिए। तर महासङ्घको अध्यक्षको कार्यकाल पुरा भएपछि उनले कला तथा साहित्यिक क्षेत्रमा पुनरागमन गरेका हुन्।
‘कला साहित्य मेरो रुचीको विषय हो, तथापि महासङ्घको यात्राका क्रममा म यो क्षेत्रबाट ओझेलमा पर्नुपर्यो, तथापि कला साहित्यको क्षेत्रमा म पुनः पुनरागमन भएको छु’ पोख्रेलले भने।