आज भएको प्रदर्शनमा भीडलाई उक्साउँदै आगजनी र तोडफोड भएका घटनामा मुख्य जिम्मेवार ठहर्याउँदै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ।
राजावादीहरूले गरेको आजको प्रदर्शनको ‘कमाण्डर’ दुर्गा प्रसाईंलाई तोकिएको थियो। तर उनले भीडलाई उग्र बनाउँदै उक्साएका थिए।
राजावादीहरूले तीनकुने क्षेत्रमा विभिन्न व्यक्तिहरूको घरमा आगजनी गरेका थिए। उनीहरूले नेकपा एकीकृत समाजवादीको कार्यालय, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत धेरै व्यक्तिगत घरहरूमा आगजनी गरे।
भाटभटेनीमा लुटपाट पनि गरे। अन्नपूर्ण मिडिया नेटवर्कको मुख्य कार्यालयमा पनि तोडफोड गरेका थिए।
यी घटनाहरूमा जिम्मेवार ठहर्याउँदै दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
राजावादीको प्रददर्शन उग्र हुँदा भएको झडपमा एकजना मारिएका छन् भने प्रहरीसहित २२ जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाइफायर गरेको थियो।
प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको विस्तृत परिचय भने खुलिसकेको छैन।