राजावादीहरूलाई ‘काउन्टर’ दिनका लागि आज गणतन्त्रवादी राजनीतिक दलहरूले पनि प्रदर्शन गर्दैछन्। आजै राजसंस्था माग गर्दै आन्दोलन गर्दै आएका विभिन्न मोर्चाहरूले पनि काठमाडौंमै प्रदर्शन गर्न लागेका छन्।
दुबैथरि प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ। दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए। आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ। त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए।
गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ।
सुरक्षा व्यवस्था कस्ताे?
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबारको राजावादी र गणतन्त्रवादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए।
उनले भने, ‘दुईवटा स्थलहरूमा प्रर्दशन हुँदैछ। जसमा तीनकुने र प्रदर्शनीमार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं। यसको लागि झण्डै ३५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाएको छौं। ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ।’
साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए।
आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ। त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं।’
साथै, नेपाल प्रहरीले २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ। उनले भने, ‘कुनैपनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं।’
यसैगरी उनले प्रायजसो प्रदर्शनका कार्यक्रमहरू माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताए। उनले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरू खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताए।
उनले भने, ‘प्रायजसो प्रदर्शनका हिसाबले बढी फोकस हामी माइतीघरमा गर्छौं। किनभने त्यहाँ बढी प्रदर्शन हुनेगर्छ। अलिकति भृकुटीमण्डपमा हुन्छ। ट्राफिकको पनि डाइर्भसन छ। बाटोमा जाम नहोस् भनेर सजक छौं। बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाईर्भट गर्ने गरेका छौं।’