प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिनका निम्ति प्रतिपक्षीले संसद्मा अवरोध गरेको बताएका छन्।
बिहिबार काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतलाई दबाब दिनका निम्ति संसद् अवरोध गरेको बताएका हुन्।
प्रतिपक्षीको सदन अवरोधको नियत राम्रो नभएको उनकाे भनाइ थियाे।
000
राजावादी मोर्चाले दुर्गा प्रसाईंलाई राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गर्न लागेको संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ। राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ।
000
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूबीच कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्ने होडबाजी चलिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा उनले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका हुन्।
उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिस्पर्धा गर्न अन्यथा सरकारले लगाम लगाउने चेतावनीसमेत दिएका थिए।
000
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका धेरै नेपालीहरूले लडेर गणतन्त्र स्थापना गरेको भन्दै याे व्यवस्था हट्न नसक्ने उनकाे दाबी थियाे।
000
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन अवसर दिएको छ।
साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका शाक्यलाई रीत नपुगेको भन्दै रिट सच्याउन समय दिएको हो।
शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको दाबी गर्दै आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए।
000
स्थानीय तह कर्मचारी सङ्घले काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिएको छ।
एक साताभित्र समस्या समाधान नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने संघका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।
विज्ञप्ति जारी गर्दै सङ्घले आन्दोलनबाट सृर्जित परिणामको जिम्मेवार महानगर नै हुने चेतावनी दिएको छ।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात हुने कारहरूमा २५ प्रतिशतले भन्सार कर लगाउने घोषणा गरेपछि भारतीय कम्पनी टाटा मोटर्सका शेयरहरूमा लगभग ६ प्रतिशतको गिरावट आएको छ।
त्यसैगरी, अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सका शेयरमा ३ प्रतिशतले गिरावट आएको छ।
जीप र क्रिसलर स्वामित्वको कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट आएको छ।
टाटा मोटर्सको स्वामित्वमा रहेको जगुआर ल्यान्ड रोभर (जेएलआर) यस ट्यारिफबाट प्रत्यक्ष प्रभावित हुनेछ। कम्पनीले आर्थिक वर्ष २०२४ मा विश्वभर ४ लाख गाडी बेचेको थियो।
000
नेपाली युवा क्रिकेट टोलीले एक खेल अगावै दिल्ली यु-१९ टोलीविरुद्धको अभ्यास शृंखला आफ्नो पक्षमा पारेको छ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो खेलमा नेपालले १०२ रनको फराकिलो जित निकालेकाे हाे।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ। पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो।