करिब १९ महिनाको युद्धपछि पहिलोपटक गाजा क्षेत्रमा हमासविरुद्ध प्रदर्शन भएको छ। इजरायल र हमासको युद्धपछि यति धेरै मानिस पहिलोपटक सडकमा आएका हुन्।
गत मार्चमा लगभग छ साता लामो युद्धबिराम सकिएको थियो। त्यसलगत्तै इजरायलले हमास विरुद्ध आक्रमण तीब्र बनाएको छ।
दुबै पक्ष फेरि युद्धमा होमिएपछि प्यालेस्टाइनीहरूले हमासविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले हमासलाई सत्ता छोड्न चेतावनी दिएका छन्। यद्यपि हमासले उनीहरूलाई ‘गद्दार’ भन्दै त्यो प्रदर्शनको कुनै महत्व नभएको दाबी गरेको छ।
प्रदर्शनकारीहरूका अनुसार हतियारधारी हमासका कार्यकर्ताहरूले उनीहरूलाई तितरबितर पार्नका लागि बल समेत प्रयोग गरेका थिए।
गाजा क्षेत्रमा बिद्रोही हमासले आफ्नै सत्ता चलाइरहेको छ। लगभग १९ महिनाअघि हमासले एकाएक इजरायलमाथि रकेटहरू हानेपछि युद्ध सुरु भएको थियो।
केही समयअघि कतारको मध्यस्थतामा छ साताजति युद्ध बिराम भए पनि त्यसका सहमतिहरू पालना नगरेको भन्दै इजरायलले फेरि आक्रमण थालेको थियो। इजरायले सम्झौताअनुसार हमासले युद्धबन्दीहरू नछोडेको आरोप लगाएको छ।
युद्ध सुरु हुने बेलामा इजरायलमा रहेका दश जना नेपाली पनि मारिएका थिए। त्यही बेला हमासले नियन्त्रणमा लिएका भनिएका नेपाली विद्यार्थी बिपीन जोशीको अवस्थाबारे अहिलेसम्म एकीन हुन सकेको छैन। याे युद्धमा मात्रै लगभग ५० हजार मानिस मारिएका छन् भने लाखाैं घाइते भएका छन्। त्यस्तै दशौं लाख मानिसले गाजा क्षेत्र छोडिसकेका छन्। युद्ध अघि गाजा क्षेत्रमा लगभग २३ लाख मानिस बस्थे।