आफ्ना मुख्य ब्यापार साझेदार राष्ट्रहरूमाथि करवृद्धि गरेर ‘ब्यापार’ युद्ध सुरु गरेका अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्प केही कदम पछि हटेका छन्
ट्रम्पले चीन, क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशतसम्म कर बढाइ दिएका थिए। ट्रम्पको त्यो निर्णय केही दिनमै भारी पर्यो।
पूरै विश्वबजार नै तरंगित हुनेगरी आएको ट्रम्पको यो निर्णयप्रति तीनै देशहरूले कडा प्रतिक्रिया दिएका थिए।
चीनले त अमेरिकासँग युद्ध नै लड्न तयार भएको बताएको थियो। क्यानडाले अमेरिकी शक्तिसामु कहिल्यै नझुक्ने भन्दै करको बाहानामा क्यानडा कब्जा गर्ने उसको सपनालाई कहिल्यै पूरा हुन नदिने बताएको थियो।
मेक्सिकोले पनि करवृद्धिको परिणाम अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो।
चिनियाँ राष्ट्र सी चीनफिङका तर्फबाट चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई भनेको थियो ‘चीन अमेरिकासँग हरप्रकारका युद्ध लड्न तयार छ। चाहे त्यो करको युद्ध होस् वा अरु केही।’
योसँगै चीनले चीनले अमेरिकाबाट आयात हुने कोइला, तेल, ग्यास, खेतीपातीका लागि चाहिने उपकरण र ठूला इन्जिन भएका कारमा आयातकर लगाएर अमेरिकी कदमको जबाफ दिइसकेको छ।
मेक्सिको उत्पादन हुने फेन्टालिन नामक औषधि अमेरिकामा धेरै निर्यात हुन्छ। दर्दनाशक यो औषधिलाई अमेरिकीले भने लागु औषधका रुपमा प्रयोग गर्छन्। जसका कारण वर्षेनी हज्जारौं अमेरिकीको मृत्यु हुन्छ।
त्यो औषधि बनाउने कच्चा पदार्थ भने चीनले मेक्सिकोलाई दिँदै आएको छ। फन्टालिन उत्पादन, त्यसको निर्यात् र त्यसको परिणामका लागि अमेरिकाले चीनलाई दोष लगाएका थियो।
यसअघि नै अमेरिकाले चीनलाई फेन्टालिन बनाउने कच्चा पदार्थ मेक्सिकोलाई नदिन चेतावनी दिइसकेको थियो। तर चीनले मानेन। त्यसपछि ट्रम्पले सबै चिनियाँ उत्पादनहरूका लागि कर बढाइदिएका हुन्।
योमात्रै होइन। अमेरिका उपभोक्ताको आधाभन्दा धेरै आवश्यकता चिनियाँ वस्तुबाटै पूरा हुन्छन्।
चीनलगायत अरु साझेदार देशले कडा चेतावनी दिइरहेका बेला कर बढाउने निर्णयको दुई दिनपछि ट्रम्प भने अलिकति हच्किएका छन्।
उनले हालका लागि क्यानडा र मेक्सिकोमाथि लगाएको २५ प्रतिशत कर छुट गर्ने घोषणा गरेका छन्। तर यो छुट केही समयका लागि अर्थात् अस्थायीरुपमा हुनेछ।
अमेरिका लागि यी दुई राष्ट्र सबैभन्दा ठूला ब्यापारिक साझेदार हुन्। तर चीनका सन्दर्भमा भने उनले केही खुलाएका छैनन्।
ट्रम्पले विश्वका सबैभन्दा ठूला वस्तु उत्पादनकर्ता राष्ट्रहरूमाथि कर वृद्धिको घोषणा गरेपछि अहिले विश्वबजारभरि अन्योल छाएको छ।
करमा अस्थायी छुट दिने निर्णयपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले ट्रम्पलाई धन्यवाद दिएका छन्।
क्यानडाले अहिले नै कुनै प्रतिक्रिया दिएको छैन। तर यसअघि प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर वृद्धि गरेर क्यानडा कब्जा गर्न खोजेको र आफूहरूले कहिल्यै त्यस्तो हुन नदिने बताएका थिए।
त्यसपछि ट्रुडोसँग टेलिफोन कुराकानी गरेपछि ट्रम्पले प्रधानमन्त्री ट्रुडोलाई ‘क्यानडाका गभर्नर’ भन्दै होच्याएर सम्बोधन गरेका थिए।
यसबीचमा ट्रम्पले मेक्सिकोका राष्ट्रपति शिनबामसँग पनि टेलिफोन वार्ता गरेका छन्। उनले खासगरी कार निर्माता कम्पनीहरुका लागि कर छुट दिने बताएका छन्। यो छुट आगामी अप्रिल २ सम्म हुनेछ।