एक कदम पछि हटे ट्रम्प

Break n Links
Break n Links

दुई दिनभित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्न केही निर्णयहरूबाट एक कदम पछि हटेका छन्। खासगरी युक्रेनी राष्ट्रपतिसँग भएको नोंकझोंकपूर्ण बैठक र त्यसपछिका उनका प्रतिक्रिया अनि आयातित वस्तुमा कर लगाउने निर्णयबाट उनी अलि पछि हटेका हुन्। 

केही दिनअघि उनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई ह्वाइट हाउसमा बोलाएका थिए। रुसको नियन्त्रणमा रहेका युक्रेनी भूमिको खनिज उत्खनन् र प्रयोगका लागि सम्झौता गर्न बोलाए पनि ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीलाई निकै अपमान गरेर ह्वाइट हाउसबाट निकालेका थिए।

त्यसपछि उनले युक्रेनलाई दिँदै आएको सबै सैन्य तथा अरु सहायताहरू रोक्ने र गुप्तचर सूचनाहरू पनि आदानप्रदानमा रोक लगाएका थिए। त्यस्तै उनले युक्रेनसँग तत्कालका लागि कुनै वार्ता वा संवादको सम्भावना नभएको पनि बताएका थिए। 

त्यसलगत्तै जेलेन्स्की युरोपेली देशहरूसँग साहारा माग्न पुगे। बेलायतमा पुगेका उनलाई त्यहाँका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरे। सबै युरोपेली नेताहरू बेलायतमा बैठक गरेर युक्रेनलाई साथ र सहयोगको बाचा गरे। उनी अहिले पनि युरोपेली देशको भ्रमणमा छन्। 

बुधबार ट्रम्पले अमेरिकी संसदको संयुक्त शत्रलाई सम्बोधन गर्दै थिए। त्यो बेला उनले जेलेन्स्कीले पठाएको पत्रका केही अंश पढेर सुनाएका थिए। त्यसमा जेलेन्स्कीले वार्ताका लागि तयार भएको र युक्रेन सधैं शान्तिको पक्षमा रहेको लेखेका थिए। 

लगत्तै ट्रम्प युक्रेनसँग वार्ताका लागि तयार भएका हुन्। अमेरिका र युक्रेनबीचको यो वार्ता आगामी साता हुनेछ। तर तेस्रो राष्ट्रमा। वार्ताका लागि साउदी अबरले मध्यस्थता गर्ने भएको छ। यसअघि अमेरिका र रुसी अधिकारीहरूले साउदीमै वार्ता गरेका थिए र रुस युद्ध बिरामका लागि तयार भएको थियो। तर आफूलाई सहभागी नगराइएको भन्दै युक्रेन र युरोपेली राष्ट्रहरुले त्यसलाई स्वीकारेका थिएनन्। 

त्यो बेला जेलेन्स्की पनि खाडी राष्ट्रहरूमै हुनेछन्। तर उनी आफै भने सहभागी हुने छैनन्। ट्रम्प पनि त्यसमा सहभागी हुनेछैनन्। बरु उनिहरूका बरिष्ठ अधिकारीहरूले वार्ता गर्नेछन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ वेटकफले अमेरिकाले रुस-युक्रेन युद्ध समाप्त गर्नका लागि शान्तिको रुपरेखा कोर्न चाहिरहेको बताएका छन्। साउदी अबरमा हुने वार्ताले त्यो मार्गको स्पस्ट चित्र कोर्ने पनि उनले बताएका छन्। 

योसँगै अमेरिकी राष्ट्रपतिले यसअघि खासगरी चीन, क्यानडा र मेक्सिकोमाथि करवृद्धिको निर्णयबाट अलिकति पछि हटेका छन्। उनले हालका लागि क्यानडा र मेक्सिकोमाथि लगाएको २५ प्रतिशत कर छुट गर्ने घोषणा गरेका छन्। तर यो छुट केही समयका लागि अर्थात् अस्थायीरुपमा हुनेछ। 

अमेरिका लागि यी दुई राष्ट्र सबैभन्दा ठूला ब्यापारिक साझेदार हुन्। तर चीनका सन्दर्भमा भने उनले केही खुलाएका छैनन्। यसअघि ट्रम्पले चिनियाँ उत्पादनमाथि चर्को कर वृद्धि गरेपछि चीनले पनि त्यसको कडा जवाफ दिएको थियो। अमेरिकी कदमपछि चीनले पनि अमेरिकी उत्पादनहरूमा कर वृद्धिको निर्णय गर्दै चीन ‘हरेक युद्ध लड्न तयार भएको’ प्रतिक्रिया दिएको थियो।

ट्रम्पले विश्वका सबैभन्दा ठूला वस्तु उत्पादनकर्ता राष्ट्रहरूमाथि कर वृद्धिको घोषणा गरेपछि अहिले विश्वबजारभरि अन्योल छाएको छ। 

करमा अस्थायी छुट दिने निर्णयपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले ट्रम्पलाई धन्यवाद दिएका छन्। 

क्यानडाले अहिले नै कुनै प्रतिक्रिया दिएको छैन। तर यसअघि प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर वृद्धि गरेर क्यानडा कब्जा गर्न खोजेको र आफूहरूले कहिल्यै त्यस्तो हुन नदिने बताएका थिए। त्यसपछि ट्रुडोसँग टेलिफोन कुराकानी गरेपछि ट्रम्पले प्रधानमन्त्री ट्रुडोलाई ‘क्यानडाका गभर्नर’ भनेर सम्बोधन गरेका थिए। 

यसबीचमा ट्रम्पले मेक्सिकोका राष्ट्रपति शिनबामसँग पनि टेलिफोन वार्ता गरेका छन्। उनले खासगरी कार निर्माता कम्पनीहरुका लागि कर छुट दिने बताएका छन्। यो छुट आगामी अप्रिल २ सम्म हुनेछ। 


 

प्रकाशित मिति: : 2025-03-07 09:40:00

प्रतिकृया दिनुहोस्