सरकारले ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभामा पेश गर्ने भएको छ।
प्रतिनिधि सभाको फागुन २१ गते बुधबार बस्ने बैठकमा सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश पेश गर्ने भएको हो। अध्यादेशहरू संघीय संसदको दुवै सदनमा पेश गर्न लागिएको हो।
जसपा नेपालको असहमतिका कारण भूमिसम्बन्धी अध्यादेश भने सरकारले होल्डमा राखेको छ। यसलाई प्रतिस्थापन गर्ने वा विकल्पको रुपमा दलसम्बन्धी विधेयक ल्याएर साना पार्टीलाई दवाबमा राख्ने भन्नेमा गठबन्धन एमाले-कांग्रेस छलफलमै छन्।
प्रतिनिधि सभामा स्पष्ट बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा नेपालले साथबिना बहुमत पुग्ने स्थिति छैन। जसपा नेपालले भूमिबाहेक अन्य विधेयकमा समर्थन गर्ने जनाएकोले ती विधेयकहरू मात्र पेश गर्न लागिएको हो।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने जानकारी दिँदै सांसदहरूलाई उपस्थितिको लागि निर्देशन दिएका छन्।
उनले सांसदहरूलाई एसएमएसमार्फत भनेका छन्, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने भएकाले अनिवार्य उपस्थितिका लागि अनुरोध छ।’
सत्तारुढ नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ।
भोलिको संसद बैठकअघि सभामुख देवराज घिमिरेले मंगलबार दिउँसोका लागि कार्य व्यवस्था, परामर्श समितिको बैठक पनि डाकेका छन्।