ह्वाइट हाउसबाट अपमानजनक तरिकाले निकालिएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत गरेको छ।
खनिज सम्झौतामा हस्ताक्षर गर्न बोलाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीलाई निकै अपमानजनक तरिकाले ह्वाइट हाउसबाट निकालेका थिए। त्यसपछि केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएर जेलेन्स्की बेलायत पुगेका हुन्।
उनलाई त्यहाँ भने बेलायती प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरे। त्यतिमात्रै होइन दुई कार्यकारी राष्ट्र प्रमुखको भेटवार्तापछि बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरबो सहायता दिने घोषणा पनि गरेको छ।
यो भेटवार्तापछि जेलेन्स्कीले युक्रेनसँग बेलायतजस्ता असल मित्र पनि रहेको प्रतिक्रिया दिएका छन्। बेलायतको सहयोग सैन्य सामग्री र अन्य आवश्यकताका लागि हुने पनि जेलेन्स्कीले बताए।
जेलेन्स्कीलाई बोउनुअघि अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री स्टार्मरलाई पनि भेटेका थिए। जो बाइडनको कार्यकालमा युक्रेनको पक्षमा रहेको अमेरिका अहिले भने रुसतिर ढल्किएको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपति पद सम्हाले लगत्तै ट्रम्पले रुसका राष्ट्रपतिसँग पटक पटक भेटघाट र वार्ता गरेका छन्।
खासगरी युक्रेनी भूमिमा रहेका बहुमूल्य र दुर्लभ खनिजमा आँखा लगाइरहेका ट्रम्पले सुरुमै युक्रेनसँग उक्त खनिजमा अमेरिकाको स्वामित्व मागेका थिए। तर जेलेन्स्कीले अस्वीकार गरे। ती खनिज पदार्थ भएका अधिकांश भूमि अहिले रुसको नियन्त्रणमा छन्। त्यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती खनिज उत्खनन् गर्न अमेरिकालाई सहमति दिएका थिए। त्यसपछि युक्रेन पनि खनिज सम्झौतामा सहमत भएको हो।
त्यही सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउसमा निम्त्याइएका जेलेन्स्कीलाई ट्रम्प र उनका सहयोगीहरूले भने निकै अपमान गरेर अमेरिका छोड्न भनेका थिए। करिब ५० मिनेटजति पत्रकार अनि ट्रम्पका सहयोगीहरूले घेरिएका जेलेन्स्कीले भने निकै डटेर उनीहरूको सामना गरे।
अहिले पूरै युरोपेली राष्ट्रहरूले युक्रेनको समर्थन गर्दै अमेरिकाको आलोचना गरिरहेका छन्।
बेलायत भने युरोप र अमेरिकाबीचको पुल बन्ने कोसिस गरिरहेको छ। अमेरिकाबाट अपमानित भएर आएका जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत र सैन्य सहायताको सगुनमात्रै दिएको छैन बरु यो मामला हल गर्नका लागि बेलायतले युरापेली नेताहरूको बैठक पनि आह्वान गरेका छन्।
तीन वर्षअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसपछि दुई देशबीच युद्ध चलिरहेको छ। युद्ध सुरु भएलगत्तै अमेरिका तथा युरोपेली राष्ट्रहरूले रुसमाथि प्रतिबन्ध लगाएका थिए।