सम्झौताका लागी बोलाएर ट्रम्पले किन गरे जेलेन्स्कीको अपमान ?

आफैले ह्वाइटहाउसमा बोलाएर युक्रेनी राष्ट्रिपतिलाई अपमानित गर्दै फर्काएपछि यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवाद र चर्चामा छन्। 

संसारभरि ट्रम्पको आलोचना भइरहेको छ भने युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई साहस र ढाडस दिइरहेका छन्।

ट्रम्पले जेलेन्स्कीलाई एउटा खनिज सम्झौतामा हस्ताक्षर गर्नका लागि शुक्रबार ह्वाइटहाउसमा बोलाएका थिए। तर जब उनलाई ह्वाइट हाउसभित्र लगियो अनि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले समेत जलेन्स्कीलाई निकै हेप्दै बोले। 

ट्रम्पले उनलाई झपारेकै शैलीमा कडा चेतावनीहरू पनि दिए। कैयौं पत्रकारहरूले घेरिएका उनीहरूबीच करिब ५० मिनेटसम्म वादविवाद अनि चर्काचर्की चलिरह्यो। विवाद नसकिएपछि त्यत्तिकै अपमानित गर्दै ट्रम्पले जेलेन्स्कीलाई ह्वाइटहाउसबाट बाहिर निस्किन निर्देशन दिए। 

त्यो भनाभन्, चर्काचर्की अनि तीखो बहसका बीचमा अमेरिकामा रहेकी युक्रेनी राजदूत भने निकै तनावमा देखिन्थिन्। उनी घरिघरि निधारमा हात राखेर रोएकोजस्तो देखिने भिडिओहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यो विवादमा जति ट्रम्पको आलोचना भएको छ, ह्वाइटहाउसमै छिरेर उनीहरूसँग डटेर बहस गरेको भन्दै जेलेन्स्कीको पनि उत्तिकै वाहवाही भइरहेको छ। 

ट्रम्प अनि उनका उपराष्ट्रपति भेन्सले हपारेको शैलीमा युक्रेनमाथि आरोपहरू लगाउँदै गर्दा जेलेन्स्की कत्ति पनि अत्तालिएनन् र बरु डटेर सवालजवाफ गरे। ह्वाइटहाउस प्रवेश गर्दा नै जेलेन्स्कीलाई पत्रकारहरूले उनले लगाएको लुगाका बारेमा प्रश्न गरेर होच्याएका थिए। जेलेन्स्कीले सधैंजस्तो सैन्य चरित्र झल्किने टिसर्ट र पाइन्ट लगाएका थिए। 

पत्रकारहरूले ‘यो ड्रेसअपले हाम्रा राष्ट्रपतिको अपमान भएको जस्तो लाग्दैन? तपाईंले किन सुट लगाउनुहुन्न? के तपाईंसँग एउटा पनि सुट छैन’ भन्नेजस्ता प्रश्न गरेर सुरुमै हेपेका थिए। जवाफमा जेलेन्स्कीले रुससँगको युद्ध नसकिएसम्म आफूले यस्तै सांकेतिक कपडा लगाउने बताएका थिए। लगत्तै उनलाई स्वागत गर्दै ट्रम्पले पनि ड्रेसअपका कुरा गरेका थिए।  

बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्‍याख्खर्‍याख्ती पार्न खोजे। सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए। 

ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन खोजेको’ अनि रुससँग शान्ति सम्झौता नगरेमा अमेरिकाले सहयोग नगर्ने चेतावनी दिए। जेलेन्स्कीले अमेरिका आफैले आफ्ना समस्याहरू समाधान गर्न नसकेको भन्दै आफू शान्ति प्रक्रियाबाट कहिल्यै नभागेको र सधैं शान्ति नै चाहेको भन्ने जवाफ दिएका थिए। 

विवाद चर्किंदै गएपछि खनिज सम्झौता हुन सकेन र त्यसपछिको पत्रकार सम्मेलन पनि रद्द गरियो। विवादकै बीचमा उनलाई अपमानजनक तरिकाले ह्वाइट हाउसबाट बाहिरिन भनिएको थियो। रुस र युक्रेनको युद्ध रोक्ने बाचा गर्दै दोस्रोपटक राष्ट्रपति भवन छिरेका ट्रम्पले सुरुमै युक्रेनसँग बहुमूल्य र दुर्लभ खनिजहरूका खानी दिन प्रस्ताव गरेका थिए। तर जेलेन्स्कीले मानेनन्। 

अनि ट्रम्पले युद्ध रोक्न भन्दै युक्रेनलाई बाइपास गरेर साउदी अरबमा वार्ता गरे। त्यो वार्तापछि आफूले कब्जा गरेका युक्रेनी भूमिका खनिज उत्खनन् र उत्पादनमा अमेरिकालाई रुसले स्वीकृती दिएको थियो। 

त्यो लगत्तै युक्रेन पनि खनिज सम्झौतामा हस्ताक्षर गर्न राजी भयो र उक्त सम्झौतामा हस्ताक्षर गर्न भन्दै जेलेन्स्कीलाई ह्वाइटहाउस बोलाए। तर उल्टै अपमानित गरेर ह्वाइटहाउसबाट निकाले। ‘रेयर अर्थ मिनिरल्स’ भनिने विश्वका कैयौं दुर्लभ र बहुमूल्य खनिजहरू युक्रेनी भूमिमा छन्। जसमाथि अमेरिकाले पहिलादेखि नै नजर लगाइरहेको छ। 

रुससँग तीन वर्षअघि सुरु भएको युद्धबाट अहिलेसम्म युक्रेन पछि हटेको छैन। यसअघि जो बाइडेनको पालामा अमेरिकाले खर्बौं बराबरको हातहतियार र आर्थिक सहायता युक्रेनलाई दिएको थियो। त्यसवाफत खनिज नदिए अब सहयोग रोक्ने चेतावनी ट्रम्पले दिँदै आएका छन्। 
 

प्रकाशित मिति: : 2025-03-01 18:40:00

प्रतिकृया दिनुहोस्