दुर्लभ खनिज अमेरिकालाई दिने सम्झौतामा हस्ताक्षर गर्दै युक्रेन

Break n Links
Break n Links

आफ्नो भूमिको खनिजमा अमेरिकालाई स्वामित्व दिने एउटा सम्झौतामा आज युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हस्ताक्षर गर्दैछन्। ह्वाइट हाउसले उनलाई त्यो सम्झौताका लागि बोलाएको थियो। शुक्रबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीले सम्झौतामा हस्ताक्षर गरेपछि युक्रेनी भूमिमा रहेका दुर्लभ खनिजमा अमेरिकी स्वामित्व स्थापित हुनेछ। 

विश्वकै दुर्लभ मानिने ‘रेयर अर्थ मिनिरल्स’का लागि यसअघि ट्रम्पले पटक पटक युक्रेनलाई प्रस्ताव गरेका थिए। ती खनिज भएका धेरैजसो भूगोल अहिले रुसको कब्जामा छन्। रुसले पनि ती खनिज उत्खनन् गर्न अमेरिकालाई सहमति दिएपछि युक्रेन पनि सम्झौता गर्न बाध्य भएको हो।

युक्रेनसँग सम्झौता गर्नुअघि ट्रम्पले अमेरिकी भ्रमणमा रहेका बेलायती प्रधामन्त्री कियर स्टार्मरसँग भेटवार्ता गरेका थिए। त्यसपछि आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जेलेन्स्कीको प्रशंसा गरेका थिए। तर सुरुमा उनले जेलेन्स्कीलाई ‘सन्काहा’ र ‘तानाशाह’ भनेका थिए। 

त्यसकै बारेमा पत्रकारहरूले सोधेको एउटा प्रश्नमा भने ट्रम्पले आफूले त्यस्तो नभनेको बताए। 

‘मैले त्यस्तो भनेको थिएँ र?’ पत्रकारलाई नै प्रतिप्रश्न गर्दै ट्रम्पले भने ‘मलाई त विश्वास छैन मैले उनलाई त्यस्तो भनेको थिएँ भनेर।’ 

बरु उनले जेलेन्स्कीको प्रशंसा गर्दै उनले रुससँग साहसिक युद्ध लडिरहेको पनि बताए। 

युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहे?

‘हामीबीच राम्रो कुराकानी भइरहेको छ। हामीले उनिहरूलाई धेरै सहयोग पनि गरेका छौं’ ट्रम्पले भनेका छन् ‘आगामी दिनमा पनि हामी सँगै मिलेर काम गर्नेछौं।’ 

गत सातामात्रै ट्रम्पले युद्धको बाहानामा चुनाव नगरेर जेलेन्स्की ‘तानाशाह’ बन्दै जान थालेको टिप्पणी गरेका थिए। गत वर्षको मे महिनामै कार्यकाल सकिए पनि रुससँग युद्धका कारण युक्रेनले चुनाव गर्न सकेको छैन। अहिले ‘मार्शल ल’को कानुनअन्तर्गत जेलेन्स्की युक्रेनको राष्ट्रपतिका रुपमा छन्। 

दोस्रो कार्यकालको सुरुवात गर्दै ट्रम्पले रुस-युक्रेन युद्ध रोक्ने प्रतिवद्धता दोहोर्‍याएका थिए। त्यसका लागि उनले राखेका प्रस्तावहरू सुरुमा युक्रेनले अस्विकार गरेपछि ट्रम्पले आफ्ना प्रतिनिधिहरूमार्फत् साउदी अरबमा रुससँग वार्ता गरेका थिए र त्यो वार्तामा युद्ध रोक्ने सहमति भएको थियो। तर युक्रेनलाई सामेल नगराइएको भन्दै युरोपेली राष्ट्रहरूले उक्त वार्तालाई मान्यता नदिने बताएका थिए। 

तर पछिल्लोपटक खनिज सम्झौतामा राजी भएपछि रुस-युक्रेन युद्ध रोकिने वातावरण निर्माण हुँदै गएको ट्रम्पले बताएका छन्। 
 

प्रकाशित मिति: : 2025-02-28 09:34:00

प्रतिकृया दिनुहोस्