प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने अपराधहरू बढ्दै गइरहेको बताएका छन्।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेको भएपनि यसको सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन्।
साथै उनले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरूले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए। उनले डिजिटल विकास र सुविधाको प्रयोग अन्य अपराध गर्ने अपराधीहरूका लागि सहज भएको समेत बताए।
उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरू हुन्। २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौं। यसलाई मानव जातिले आफ्नो उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो। त्यो गरिएको पनि छ। मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेका छौं। तर यो सदुपयोग मात्र भइरहेको छैन, कम्प्युटर साइन्स, डिजिटल एवं आईटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन। साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो।’