अखिल नेपाल फुटबल संघ एन्फाले फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा निमन्त्रणाबिना रंगशालामा नआउन विशिष्ट व्यक्तिहरूलाई आग्रह गरेको छ।
बुधबारको फाइनल खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फा कम्पिटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद, मन्त्रीहरू बिना निमन्त्रणा नै मैदान आउने गरेकोले भिड व्यवस्थापनमा समस्या हुने गरेको बताए।
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिष्पर्धा हुँदैछ।
मिश्रले भने, ‘मेयर साबहरू, वडाध्यक्षहरू, सांसद, मन्त्रीज्यूहरू सबैजसो आइदिँदा ओभर क्राउडेड हुन्छ। त्यसैले जसलाई इन्भाइट गरिएको छ उहाँहरू आउन सक्नुहुन्छ। निमन्त्रणा नभएकाहरूलाई रंगशालामा प्रवेश नगर्ने वातावरण बनाइदिन अनुरोध गर्दछु।’
एन्फाका एक अधिकारीका अनुसार सांसद मन्त्री र नेताहरूले आफ्ना आसेपासेलाई निमन्त्रणाबिना पासका लागि दवाब दिँदा एन्फाको आम्दानीमा समेत असर गरेको छ। टिकट विक्रीभन्दा फ्रि को पास धेरै वितरण हुँदा समस्या भएको उनले बताए।
उनले भने, ‘एन्फाका पदाधिकारीहरूले पनि आफ्ना परिवार, आफन्त र चिनजानकालाई मनलाग्दी पास वितरण गर्दा पनि समस्या भइरहेको छ। त्यसमा पनि थप पासका लागि राजनीतिक दवाब आउँदा एन्फालाई धेरै घाटा भइरहेको छ। मेयर सांसदलगायत प्रतिनिधिहरू दलबलसहित रंगशाला पुग्दा सुरक्षा व्यवस्था पनि अस्तव्यस्त हुने गरेको छ।’
त्यस्तै उनले उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूले आ-आफ्नै पालिकामा ठूलो स्क्रिनमा खेल हेर्ने प्रवन्ध गरिदिए रंगशालामा चाप कम हुने बताए।