गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले डेमोक्रेसी अराजकताको नभइ अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरू दिनुपर्ने बताए।
उनले भने, ‘डेमोक्रेसी भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होईन भन्ने कुरा बुझ्न जरुरी छ। अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी हुन्छ। किनभने डेमोक्रेसीले दिनुपर्यो, बाँड्नुपर्यो। डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो। लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरू आवश्यक हुन्छन्।’
उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरू प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए।
उनले भने, ‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरू देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरू प्रचार गर्ने, समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरू प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ। यस्तो कुरामा पनि सचेत हुनुपर्छ। हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढीकरण आजको आवश्यकता हो।’
यसको साथै, उनले सुदूरपश्चिममा ‘समस्या छ, समस्या छ’ भनेर मात्र होईन अब सम्भावना छ भनेर अगाडि बढ्नुपर्ने भन्दै मुलुकको प्रत्येक क्षेत्रमा सुदूरपश्चिमको योगदान रहेको उनको भनाई छ।
उनले भने, ‘सुदूरपश्चिममा जस्तो सम्भावना अरु कतै छैन। पर्यटक, भौगोलिक, रमणियता अथवा विकासको सम्भावना सुदूरपश्चिममा नै सबैभन्दा धेरै छ यसको साथै जनशक्तिको सम्भावना पनि छ। सुदूरपश्चिमले मुलुकको प्रत्येक क्षेत्रमा योगदान गरेको छ।’