कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृती लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन्।
शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताइन्।
घटनाका बारेमा चिन्ता जाहेर गर्दै उनले भनिन्, ‘विद्यार्थीहरू जग्गा धितो राखेर पढ्न गइरहेका हुन्छन्। उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ त?’
यस्तै राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए। आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृती लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेको छ।
यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ। सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो संख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने जनाएको हो।
विश्वविद्यालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको हो। उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूको क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख गरिएको छ।
स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ।