भारतको ओडिसा राज्य सरकारले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि गरिएको अमानवीय व्यवहारको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ।
समितिले नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग सम्बन्धि छानबिन गर्ने र उनीहरूलाई कानूनीरुपमा जबाफदेही बनाउने ओडिसा राज्य सरकारको सूचना विभागले विज्ञप्तिमार्फत जनाएको छ।
घटनालगत्तै मुख्यमन्त्री मोहनचरण माझीले विश्वविद्यालयको अनुगमन गरेका थिए। उनले विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा शक्तिको दुरुपयोगको छानबिन गरिने प्रतिवद्धता गरेका थिए।
जाँचबुझ समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका सचिव, उच्च शिक्षा विभागका अधिकारी सदस्य छन्।
विज्ञप्तिमा भनिएको छ, ‘समितिले विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग सम्बन्धि छानविन गर्ने र उनीहरुलाई कानूनीरुपमा जबाफदेही बनाउने छ। राज्य सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान एवं हकहितका लागि कार्य गर्न प्रतिबद्ध छ। निस्पक्ष र शीघ्र न्याय सुनिश्चित गर्न आवश्यक सबै कदम चालिनेछ।’