परिवर्तनको गतिसँग बढ्न नसके नेपाल पछि पर्छ : प्रदीप ज्ञवाली

Break n Links
Break n Links

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका २० वर्षमा विश्वमा धेरै परिवर्तन भएको बताएका छन्।

नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन्।

‘हामीले आफूलाई अपडेट गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ’, उनले भने।

नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए। त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए।

नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको लडाई भएको ज्ञवालीले बताए। अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनको धारणा छ। ‘अब यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ,’ उनले भने।

अहिले सामाजिक सञ्जालमार्फत सूचना भन्दा बढी मिस इन्फर्मेसन र डिस इन्फर्मेसन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने गरेको बताए।

‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भने।

विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनको धारणा छ। यस्ता समस्याको समाधान भनेको वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको बताए।

दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने उनले बताए। अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौँ भनेर आएको  उनको भनाइ छ। 

‘के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन’, उनले भने।

प्रकाशित मिति: : 2025-02-02 10:42:00

प्रतिकृया दिनुहोस्